Search
Close this search box.
Search
Close this search box.

महाशिवरात्रीको अवसरमा अर्जुनधारा जलेश्वरधाममा ताण्डव नृत्य हुने, विजेतालाई ५१ हजार

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको अर्जुनधारा जलेश्वरधाममा यस वर्षको महाशिवरात्री पर्वमा ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । फागुन २७ गते परेको महाशिवरात्री पर्वका अवसरमा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा-७ स्थित अर्जुनधारा जलेश्वर धाममा तीन दिनसम्म विविध कार्यक्रम हुने भएको हो ।

‘एक साँझ शिवका माझ’ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमहरु सञ्चालन हुने धाम व्यवस्थापन समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले बताए ।कार्यक्रम अन्र्तगत २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृंगार, आरतीलगायत हुने बताइएको छ ।

साथै, सोही दिन सन्ध्याकालिन विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत प्रदेश नं.१ स्तरीय एकल ताण्डव नृत्य र एकल शिव भजन गायन प्रतियोगिता आयोजना हुने समितिका अध्यक्ष नविनकुमार गट्टानीले बताए । भगवान शिवलाई प्रसन्न गराउन र पहिलो नृत्यको रुपमा मानिएको ताण्डव नृत्यको महत्वबारे सबैलाई बुझाउन उक्त प्रतियोगिता प्रदेशमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष गट्टानीले दावी गरेका छन् ।

एकल ताण्डव नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही पाँच हजार प्रदान गरिने सांस्कृतिक कार्यक्रमका संयोजक देवीभक्त श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही दुई हजार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुन प्रतियोगीले ताण्डव नृत्यका लागि एक हजार र शिव भजनका लागि पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको अडिसन २५ र २६ गते हुने बताइएको छ ।दुवै विधामा ५० ५० जना सहभागी हुने अपेक्षा गरिएको छ भने अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिनेछ । जसमध्ये ५ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तिमा ५ लाख रुपैयाँ खर्च हुने अध्यक्ष गट्टानीले बताए ।

उनका अनुसार पुरस्कारवापतको १ लाख ८० हजार दाताले प्रायोजन गरेको हो । समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीमचन्द्र भट्टराईले व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव शिवलाल खतिवडाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *