मेचीनगर।
पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गर्ने र अत्यधिक तडकभडक देखाउने प्रवृत्ति व्यापक हुँदै गएको बेला, झापाको मेचीनगर नगरपालिका वडा नं. १२ की मुना चिमरिया प्रसाईंले भने आफ्नो जन्मदिन फरक तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेकी छिन्। उनले जन्मदिनलाई सामाजिक काममा योगदान दिने अवसरका रूपमा प्रयोग गर्दै मेचीनगर नगरपालिका वडा नं. १४ मा रहेको आत्मज्ञान प्रचार संघको भवनमा स्वच्छ पिउने पानी जडानका लागि १० हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन्।
चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव प्रेमराज घिमिरेका अनुसार, आत्मज्ञान संघमा स्वच्छ पानीको पहुँच सुनिश्चित गर्न २२ हजार १५० रुपैयाँ आवश्यक थियो। यसमध्ये १० हजार रुपैयाँ चिमरियाले सहयोग गरेकी हुन् भने बाँकी रकम संघले आफैंले व्यवस्थापन गर्ने बताइएको छ।
चिमरियाले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसहित उपयोग गर्न पाउँदा गर्व लागेको बताउँदै, “जन्मदिन जस्तो विशेष अवसरमा समाजको भलो हुने कुनै काम गर्न पाउनु साँचो खुसी हो,” भनिन्।
उक्त सहयोग रकम उनले बुधबार आत्मज्ञान प्रचार संघका अध्यक्ष राजन चिमरियालाई हस्तान्तरण गरेकी हुन्। उनको यस योगदानले जन्मदिन जस्ता व्यक्तिगत उत्सवलाई सामाजिक उद्देश्यसँग जोड्न सकिने सन्देश दिएको छ। साथै, स्थानीय बासिन्दाका लागि सुरक्षित र स्वच्छ पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्याउँदै समाज सेवाको प्रेरणादायक उदाहरण प्रस्तुत गरेको छ।