विराटनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक (चिन्तन) को कार्यशैली, विकासप्रतिको प्रतिबद्धता तथा बजेट कार्यान्वयनको दृष्टिकोणको प्रदेश सभामा प्रशंसा गरिएको छ। सत्ता पक्ष र प्रतिपक्ष दुवैबाट मन्त्री पाठकको कामको खुलेर सराहना गरिएको हो।
प्रतिपक्षी नेताबाट मन्त्री पाठकको प्रशंसा
प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपाका नेता इन्द्र आङ्बोले मन्त्री तिलचन पाठकले प्रदेशभर सन्तुलित विकासको अवधारणालाई प्रभावकारी रूपमा अघि बढाएको बताए।
उनले प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानी वा सिँचाइ क्षेत्रका महत्वपूर्ण योजनालाई प्राथमिकता दिने उद्देश्यले नीतिगत निर्णय गरी सांसदहरूसँग समन्वय गरेर प्रत्यक्ष रूपमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरे। साथै, २५ लाख रुपैयाँसम्मका योजनालाई राजनीतिक पूर्वाग्रहबिना बजेट सुनिश्चित गरिएको भन्दै उनले मन्त्री पाठकको कार्यशैलीको प्रशंसा गरे।
विकास बजेट वितरणमा समन्वयात्मक दृष्टिकोण
नेता आङ्बोका अनुसार विकास बजेट वितरणमा सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ। योजनाको छनोट प्रक्रियामा समन्वयात्मक, व्यवहारिक तथा परिणाममुखी दृष्टिकोण अपनाइएकाले प्रदेशभर सन्तुलित विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
गोम्बु शेर्पाको भनाइ : मन्त्री पाठक सक्रिय र जिम्मेवार
सोलुखुम्बुबाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य गोम्बु शेर्पा कर्ज्याङ ले मन्त्री तिलचन पाठक मन्त्री बनेपछि आफ्नो जिम्मेवारीप्रति गम्भीर र सक्रिय देखिएको बताए। सीमित स्रोत–साधनका बीच पनि खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका योजनालाई अघि बढाउन मन्त्री पाठकले उल्लेखनीय प्रयास गरेको उनको भनाइ थियो।
मन्त्री तिलचन पाठकप्रति बढ्दो विश्वास
प्रदेश सभाको छलफलमा सत्ता पक्ष र प्रतिपक्ष दुवैबाट आएको सकारात्मक प्रतिक्रियाले मन्त्री तिलचन पाठक को कार्यसम्पादनप्रति व्यापक विश्वास बढ्दै गएको देखिएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका विकास योजनामा देखिएको सक्रियताले मन्त्री पाठकको नेतृत्व क्षमता थप स्थापित भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।



















