झापा/ झापाको मेचीनगरमा धानको कुन्यूमा आगलागी भएको छ ।
मेचीनगर नगरपालिका-१२ सहरेडाँगीस्थित स्थानीय रामबहादुर विष्ट र देविप्रसाद मिश्रको करिब तीन बिघा क्षेत्रफलको धान थन्क्याएर राखेको दुई वटा कुन्यूमा आगलागी भएको हो ।
बुधबार दिउँसो ४:१० बाट लागेको आगो मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका दुई वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, डोजर र स्थानीयको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगो नियन्त्रणमा आए पनि करिब चार लाख रुपैयाँ भन्दाबढीको धान र पराल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो कसले लगायो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।