Search
Close this search box.
Search
Close this search box.

युरोकप उपाधि भिडन्त: ३३ खेलमा अपराजित इटालीलाई घरेलु मैदानमा हराउन सक्ला इङ्ल्यान्डले ?

पालिका सन्देश – एक महिनाअघि सुरु भएको युरोकप २०२० को उपाधिका लागि आज राति इटाली र इङ्ल्यान्ड भिड्दै छन् ।   

नेपाली समयअनुसार राति १२ बजेर ४५ मिनेटमा सुरु हुने फाइनल खेलमा इङ्ल्यान्डले घरेलु मैदानमा पाहुना टोली इटालीको सामना गर्नेछ । इङ्ल्यान्डमा ५५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वेम्बली रंगशालामा हुने उपाधि भिडन्त निकै रोमाञ्चक हुनेछ । 

EPIC

घरेलु समर्थकले खचाखच भरिएको रंगशालाभित्र इङ्ल्यान्डविरुद्ध खेल्दा इटाली केही दबाबमा हुनेछ । इटाली पछिल्ला ३३ खेलमा अपराजित छ । त्यसैले पनि घरेलु दर्शकको साथ भरपुर पाए पनि इटालीमाथि जित निकाल्न इङ्ल्यान्डलाई त्यति सजिलो भने हुनेछैन ।

इटालीले यसअघि ४ पटक युरोकपको फाइनल खेलिसकेको छ । १९६८ मा उपाधि जितेको इटाली त्यसयता भने उपाधिविहीन छ । सन् २००० र २०१२ मा फाइनलमा पुगेर पनि इटाली उपविजेतामै सीमित भएको थियो । 

जारी युरोकप फाइलनमा स्थान बनाउँदासम्म इटालीले कुनै खेलमा हार ब्यहोरेको छैन । समूह चरणपछिका खेलमा अष्ट्रिया, बेल्जियम र स्पेनलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो इटालीले । 

यता, इङ्ल्यान्ड जारी युरोकपमा सबैभन्दा कम गोल खाने टोली हो ।  इङ्ल्यान्डले ६ खेलमा १ गोल मात्रै खाएको छ । समूह चरणका तीन खेलमा इङ्ल्यान्डले दुई खेल जितेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो ।

अन्तिम १६ मा उपाधि दावेदार मानिएको जर्मनीलाई २-० ले हराएको इङ्ल्यान्डले क्वार्टरफाइनलमा युक्रेनविरुद्ध शानदार जित निकालेको थियो । सेमिफाइनलमा इङ्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै ५५ वर्षपछि ठूलो प्रतियोगितामा पहिलो पटक स्थान बनाउन सफल भएको हो ।

सन् १९९६ मा सेमिफाइनलसम्म पुगेको इङ्ल्यान्ड त्यसयता सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन ।

रक्षात्मक शैलीमा देखिने इटाली यस पटक भने केही आक्रामक शैलीमा प्रस्तुत भएको छ । फरवार्ड तथा मिडफिल्डका खेलाडीहरूको खेल आकर्षक छ ।

स्ट्राइकरमा लोरेन्जो इन्साइन, सिरो इमोबोले, फेडेरिको चिएसाको आक्रमण इटालीको लागि जितको आधार हुनसक्छ । मिडफिल्डमा जर्जिनियो, बरेल्लाजस्ता राम्रा प्रतिभावान खेलाडी छन् ।

त्योसँगै डिफेन्समा कप्तान जर्जियो चिलिनीसँगै लियानाद्रो बनुची, डी लोरेन्जोजस्ता अनुभवी खेलाडी छन् । २२ वर्षीय गोलरक्षक जानलुइजी डोनारुमा इङ्ल्यान्डका लागि बाधक बन्ने छन् । 

हरेक खेलमा फरक नीति अपनाउँदै आएको इङ्ल्यान्डले फाइनल खेलमा कस्तो लाइनअप तयार गर्ने हो भन्ने अनुमान गर्न सकिन्न । तर, कप्तान ह्यारी केन र रहिम स्टर्लिङले नै इटालीविरुद्धको खेलमा आक्रमणको जिम्मेवारी पाउने छन् । 

मिडफिल्डबाट माउन्ट, राइस, फिलिप्सजस्ता खेलाडीले केन र स्टर्लिङलाई सहयोग गर्ने छन् । रक्षापंक्तिमा भने वाल्कर, स्टोनेज, मागुइरेजस्ता खेलाडीलाई इङ्ल्यान्डले मैदान उतार्न सक्नेछ । जारी प्रतियोगितामा एक गोल मात्रै खाएका गोलरक्षक पिकवार्ड इटालीका लागि बाधक बन्न सक्ने छन् ।

इङ्ल्यान्डको लागि घरेलु मैदानमा दर्शकको साथ पाउनेछ, जसले इटालीविरुद्धको खेलमा उर्जा प्रदान गर्नेछ । इटाली र इङ्ल्यान्डले यसअघि २७ खेल खेलेका छन् । तीमध्ये इटालीले ११ खेलममा जित निकाल्दा इङ्ल्याण्डले ८ खेलमा जित दर्ता गरेको छ । यस्तै, बाँकी ८ खेल भने बराबरीमा सकिएका छन् ।

लगातार ३३ खेलमा अपराजित इटालीका लागि ५५ वर्षपछि फाइनल खेल्न लागेको इङ्ल्यान्ड भारी पर्न सक्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *