Search
Close this search box.
Search
Close this search box.

युवाहरुमा अन्तरनिहित ‘व्यक्तित्व र नेतृत्व क्षमता’ अभिवृद्धिका लागि जेसीज

1679371345000 (1)

झापाको उत्तरी भेगमा स्थापना भएको बुधबारे जेसीजले आफ्नो ११ औंँ स्थापना दिवस मनाउने तयारी गर्दैछ । बुधबारे जेसीजले स्थापना कालदेखी आज सम्म आइपुग्दा १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुमा अन्तरनिहित व्यक्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि जिल्लामा महत्वपूर्ण कार्य गर्दै आएको छ । जेसीज के हो ?, जेसीजमा किन आबद्ध हुने ?, जेसीजले गरेका महत्वपूर्ण कार्य लगायतका विषय वस्तुमा केन्द्रित रहेर बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालसँग बुधबारे जेसीजको स्थापना दिवसको अवसर पारेर गरेको कुराकानीको संक्षिप्त अंश ।

तपार्ईंको बुझाईमा जेसीज भनेको के हो ?

सर्वप्रथम जेसीज युवाहरुको संगठन हो । जसमा १८ देखि ४० बर्ष सम्मका युवाहरु आवद्ध रहेका हुन्छन् । अर्को भाषमा जेसीज नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था पनि हो । यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था भने होईन । तर पनि जेसीजले समाजमा सकारात्मक कार्यहरु भने गरिरहेकै छ । जेसीजले आफना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनीहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ । आजसम्म विश्व समुदायले जे जस्तो विकास गरेको छ ति सवै मानिसकै देन हुन । यसर्थ जेसीजले समाजको निम्ति सक्षम एवम् असल व्यक्तित्वको निमार्ण गरी अप्रत्यक्ष रुपले समाजको विकास गर्दछ ।

जेसीजमा किन आवद्ध हुने ?
जेसीजमा किन आउने भन्दा पनि आएर के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जेसीजले आफ्ना सदस्यहरुलाई आफू बस्ने समाजप्रतिको दायित्व बोध गराई विश्वको विकासमा सहभागिता गराउन सहयोग गर्दछ । विश्वका प्रत्येक व्यक्तिले आफ्नो दायित्व अनुरुप आफू बस्ने समाजमै कार्य गरेर पनि विश्व विकासमा योगदान दिन सक्दछ । यस संस्था मार्फत विश्व स्तरमा नै बन्धुत्वको सम्बन्ध स्थापित गर्न सुनौलो अवसर प्राप्त हुने हुनाले बुधबारे जेसीजमा आबद्धता अपरिहार्य छ । जेसीजले व्यक्तिको नभई बिधिको शासनलाई उच्च प्राथमिकता दिई विश्व वन्धुत्वको भावनालाई आत्मसाथ गर्दै विभिन्न तालिमको माध्यमवाट युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता तथा उद्यमशिलताको विकास गराउन कृयाशिल रहँदै आएको छ । तसर्थ युवाहरुले आफूमा अन्तरनिहित व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिका लागि यस संस्थामा आवद्ध हुने हो ।

बुधबारे जेसीजले मुख्य कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दैछ ?
मुख्यतः जेसीजले व्यक्तिगत, व्यवसायीक, सामुदायिक र अन्तर्राष्ट्रिय गरी ४ क्षेत्र विभाजन गरी कार्य गर्दछ । बुधबारे जेसीजले पनि यिनै चार क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो वर्ष भरीको कार्यक्रमलाई अगाडि वढाउने गरेको छ । बुधबारे जेसीजले तालिमका माध्यमबाट एक कुशल नेतृत्व उत्पादन गरी समाज परिवर्तन र राष्ट्र परिवर्तनको सम्वाहकको रुपमा समाजलाई हस्तान्तरण गरेको छ । जसको उदाहरण बुद्धशान्ति गाउँपालिकाको नेतृत्व साथै स्थानीय हरेक संघसंस्थामा देख्न सकिन्छ ।

जेसीजलाई धनीको संस्था भन्ने आरोप छ नि ?
यो प्रश्नको लागि धन्यवाद । जेसीजमा लाग्नेहरु पूँजीपतिवर्गका मात्र हुन्छन भन्ने सोचाई गलत हो । बास्तममा भन्दा धनीको संस्था नभएर धनी बनाउने संस्था चाहिँ हो जेसीज । यहाँ संसार भरीका उद्यमी र व्याबसायी व्यक्तित्वहरुबीच सम्बन्ध, सहकार्य तथा अन्तक्रिया हुने गर्दछ । जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागि विभिन्न विकल्पहरुलाई उपयोग गर्न सकिन्छ । जेसीजको कुनै फण्ड नहुने अनि सबै मिलेर फण्ड कलेक्सन गरेर कार्यक्रम गर्नुपर्ने भएकाले मानिसमा उत्पन्न भएको भ्रम मात्र हो ।

खासमा जेसीज अभियान के हो ? जेसीज अभियानलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
जेसीज अभियान भनेको नेतृत्व निर्माणको पहिलो जग नै हो । जेसीज अभियानका बारेमा जान्नु पूर्व जेसीजको उद्देश्य र दर्शन बुझ्न आवश्यक छ । विभिन्न विकासका अवसरहरुद्वारा युवा सशक्तिकरण गर्दै सकारात्मक परिवर्तन गर्नु नै जेसीजको उद्देश्य हो अर्थात् युवाहरुलाई विभिन्न सामाजिक तथा व्यक्तिगत जिम्मेवारीमा सामेल गराई व्यक्तित्व तथा नेतृत्व विकासमा तालिम मार्फत क्षमता अभिबृद्धि गराउने तथा परिवार समाज र राष्ट्रप्रति जिम्मेवार बनाउनु हो । साथै सक्रिय युवाहरुको नेतृत्वदायी विश्वव्यापी सञ्जाल निर्माण गर्ने दर्शन जेसीजले लिएको छ ।

बुधबारे जेसीजको स्थापना दिवस कसरी मनाउने तयारी गर्दै हुनुहुन्छ ?
हामीले जेसीज स्थापना दिवस हरेक वर्ष भव्य रुपमा नै मनाउँदै आएका छौँ । यस वर्ष निर्माणाधिन जेसीज भवनमै स्थापना दिवस मनाउन पाउने भएका छौँ । यस अघि स्वास्थ्यशिविर, ज्येष्ठ मातापिता सम्मान, न्यानो कपडा वितरण, उत्कृष्ट युवा सम्मान, भाग्य बोक्ने झोला वितरण, जन्मदिन खासदिन कार्यक्रम जस्ता कार्यक्रम गरिसकेकाले स्थापना दिवसका दिन रक्तदान कार्यक्रमका साथै जेसीजका विभिन्न क्षेत्रमा सहयोग गर्ने दातालाई सम्मान गर्ने योजना रहेको छ ।

२०२३ मा के कस्ता योजनाहरु लिनु भएको छ ?
विशेष गरि नयाँ योजना भन्दापनि बुधबारे जेसीसका दीर्घकालिन कार्यक्रमहरुमा, लागू औषध दुव्र्यसन न्यूनिकरणका लागि सचेतना कार्यक्रम, जन्मदिन खासदिन कार्यक्रम, स्वास्थ्य शिविर जस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना छ । यसका साथै जेसीजको सचिवालय भवन निर्माणाधिन अवस्थामा छ, जुन भवनलाई पूर्णता दिने मुख्य योजना छ । यसका अतिरिक्त स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको तालिममा सहभागी गराई तालिम प्रशिक्षक उत्पादन गर्ने कोसिस गर्नेछौँ ।

अन्त्यमा ?
बुधबारे जेसीजले विभिन्न तालिमको माध्यमवाट संस्थामा आवद्ध सदस्यहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गरि सबल र योग्य वनाई समाजमा हस्तान्तरण गर्ने अभियानलाई जारी राखिरहेको छ । तसर्थ, सकारात्मक सोच भएका युवालाई जेसीजमा आवद्ध भएर यस अभियानमा हातेमालो गर्न अनुरोध गर्न चाहन्छु ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *