विराटनगर । विराटनगरमा मंगलबार निस्किएको ९३ औँ संस्करणको राधाकष्ण रथयात्रामा उच्छृङ्खल गतिविधि र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरूमा उच्छृङ्खल गतिविधिमा संलग्न र पाकेटमारहरू रहेको उनले बताए । ‘अहिले नियन्त्रणमा लिएर अनुसन्धन भइरहेको छ । घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ,’ उनले भने, ‘छानबिन गरी घटनामा संलग्न नभएकालाई छोडिदिनेछौँ ।’
रथयात्रामा भिडभाड हुने भएको कारणले चोरी गर्न भारत र वीरगन्जदेखि आएको प्रहरीले जनाएको छ । प्रहरीले वीरगन्जबाट आएका १८ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको थियो । भिडभाडको फाइदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको कारणले कुनै पनि अप्रिय घटना नभएको मोरङ प्रहरीले जनाएको छ ।
चोरी, लुटपाट, पाकेटमारी लगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र वृद्ध वृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको थियो ।
रथयात्रामा सुरक्षा योजनाका साथ प्रहरीले दुई हजार बढी प्रहरी परिचालन परिचालित गरेको जनाएको छ । भिडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका लागि सादा पोसाकमा पनि ठुलो सङ्ख्या प्रहरी परिचालन गरेको एसपी कार्कीले बताए ।