राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट १५ जना कानून व्यवसायीले बहस गर्ने भएका छन्।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरको मुद्दामा जिल्ला अदालत, कास्कीमा थुनछेक बहस चलिरहेको छ। पुस १६ र १७ गते सरकारी वकीलको कार्यालयका तर्फबाट बहस भएको थियो।
आज सहकारीपीडितको तर्फबाट कानून व्यवसायीले बहस गरिरहेका छन्। उनीहरूको बहस सकिएपछि आजै लामिछाने सहित प्रतिवादीका कानून व्यवसायीले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए। “जाहेरीवालाको बहस सकिएपछि आजै प्रतिवादीका तर्फबाट बहस हुन्छ। समय भएन भने भोलिदेखि होला,” स्रेस्तेदार खनालले भने।
पूर्व गृहमन्त्री लामिछानेको तर्फबाट बहस गर्न १५ जना कानून व्यवसायीले वकालतनामा भरेका छन्। “अहिलेसम्म १५ जनाले वकालतनामा भरेका छन्, अझै बढ्न सक्छन्,” उनले हिमालखबरसँग भने।
लामिछानेको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू पनि पोखरा पुगेका छन्। वरिष्ठ अधिवक्ता सुनिल पन्तले पनि वकालतनामा भरेको स्रेस्तेदार खनालले बताए।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि कसूर लगाइएको छ। जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको छ। यसअघि सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।
लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनचेक बहस भइरहेको हो। जिल्ला सरकारी वकीलको कार्यालयले पुस ७ गते लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
लामिछाने सहित १९ जना विरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको छ। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईं विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। त्यस्तै, पूर्व डीआईजी जोशीलाई गत असोज ६ गते पक्राउ गरिएको थियो। त्यसयता उनीहरू कास्की प्रहरीको हिरासतमा छन्। सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राई लगायत भने फरार छन्।