विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोमबार भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सोही दिन गठबन्धनको तर्फबाट राईले प्रदेशसभाका ४९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
मंगलबार प्रदेश प्रमुख अधिकारीले राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । राईले आजै मुख्यमन्त्रीको शपथ लिएका छन् ।
प्रदेश १ मा को–को बने मन्त्री ?
प्रत्येक दलबाट एक/एक जना मन्त्री बनाइने चर्चा चले पनि कांग्रेसले दाबी नछोडेपछि २ वटा मन्त्रालय पाएको छ ।
नेपाली कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जनता समाजवादी पार्टीका नेता जयराम यादव सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।
नवनियुक्त मन्त्रीहरु अझै पद तथा गोपनीयताको सपथ लिएका छन् ।