जिल्लाभर कर्णाली करिडोर र आन्तरिक सडकमा राती आठ बजेपछि बिहान साँढे पाँच बजेसम्म सवारीसाधनहरु चलाउन नपाइने भएकाे छ । सबैतिर कच्ची सडक भएको कारण सम्भावित दुर्घटनाबाट जोगिनका लागि स्थानीय प्रशासनको समन्वयनमा प्रहरीले रातीको समयमा यातायात सेवा बन्द गरेको हो ।
हिल्साबाट सिमकोटका लागि गाडी चलाउँदै आउनुभएका चालक पुरन रावतले रातीको समयमा सडक बन्द गरिएको बताउनुभयो । यसबाट यात्रु तथा चालकलाई केही असुविधा भएपनि सुरक्षाका लागि पनि यो नियम अति उपयुक्त भएको उहाँले बताउनुभयो । उहाँले हिल्साबाट सिमकोटसम्म चार स्थानमा सुरक्षा चौकी भएको र प्रत्येक स्थानमा साँझको आठ बजेभित्र यातायातका साधन कटी सक्नु पर्ने बताउनुभयो । सडकमा नयाँ नियमले गर्दा चालकहरु पनि गन्तव्यमा पुग्नका लागि चनाखो हुनुपर्ने अवस्था आएकोले जिल्लाको सडकको अवस्था हेर्दा राती यातायातका साधन सञ्चालन गर्न नदिनु मनासिव भएको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दले जिल्लाभित्रका सबै सडकमा राती आठ बजेपछि यातायात सेवा सञ्चालनमा रोक लगाइएको बताउनुभयो । यसरी रातभर सञ्चालनमा रोक लगाइएका यातायातका साधन बिहान साँढे पाँच बजेपछि मात्र सञ्चालनमा आउने गरेका छन् । स्थानीय प्रशासनको समन्वयमा रातीको समयमा यातायात सञ्चालनमा रोक लगाइएपछि हुन सक्ने दुर्घटनाको जोखिमबाट सबै सुरक्षित रहेको उहाँले बताउनुभयो ।
कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म आवश्यक स्थानमा चेकजाँचका लागि सुरक्षा व्यवस्था समेत नभएको अवस्थामा यसरी राती यातायात सेवा बन्द गर्नु उपयुक्त कार्य भएको उहाँले बताउनुभयो । बर्खा लागेकोले अविरल वर्षाको कारण ठाउँठाउँमा पहिरो गएर क्षेती हुने पनि उत्तिक्कै सम्भावना भएको कारण पनि रातीको समयमा यातायात सेवालाई बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।
जिल्लाभित्रका सडकको अवस्था हेर्दा प्रहरीले लागु गरेको यो नयाँ नियम सबै क्षेत्रका लागि उपभोगी रहेको यात्रु डबल शाहीले बताउनुभयो । यसबाट रातीको समयमा जिल्लाभित्रका चालीसभन्दा बढी सडकमा यातायात सेवा बन्द हुँदै आएको छ ।