प्रेम सगर घिमिरे, फिक्कल । सुर्योदय नगरपालिका वडा नं. ३ जील (साविक पशुपतिगर वडा न. ९) मा बि.स. २०१२ सालमा स्थापना भएको शान्त माध्यमिक विद्यालयमा विद्यार्थी संख्या नपुगेको कारण देखाउदै आउँदो सत्र देखि कक्षा संचालन नगर्न पत्रमार्फत नगरपालिकाले जानकारी गराएको छ ।
सो विद्यालयमा जिल, तीनखुट्टे, पान्दम, रमफोम, रुङसुङ्ग लगायतका ठाउँहरुबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दथे। पछिल्लो समय शिक्षा क्षेत्रमा सरकारी विद्यालयमा प्रा.वि लेभल सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन सुरु गर्दा सम्म यस विद्यालयमा विद्यार्थी सङ्ख्या ३४३ जना रहेको पाईन्छ ।
हालमा भने सो विद्यालयमा शिक्षा प्रणालीमा ह्रास आउनुको साथै न्यून गुणस्तरीय शिक्षा प्रणाली, कर्मचारीको लापरवाही, व्यवस्थापन समितिको लाचारीपन, राजनीतिक खिचातानी, व्यक्तिगत अहंकार, देखासिकि कारणले सो विद्यालयमा अहिले जम्मा विद्यार्थी सङ्ख्या अन्दाजी ५० जना रहेको पाईन्छ । यसै कारणलाई मध्यनजर गर्दै विद्यार्थीहरुको अभाव देखाउदै सुर्योदय नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले कक्षा ६ देखि ८ सम्म कटौती गर्ने कुरा पत्र मार्फत जनाएको छ ।
यस क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारहरुको आर्थिक अवस्था ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने गरेको पाइन्छ । तैपनि आफ्नो सन्तानहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न चर्को शुल्क तिरेर भएपनि अध्ययनको लागि टाढा रहेको निजि विद्यालय पठाई रहेको पाइन्छ ।