नेपाल एक कला र संस्कृतिले भरिपूर्ण देश हो । यहाँ मनाइने विभिन्न चाडपर्वका आ–आफ्नै महत्त्व,सस्कार रहेको पाइन्छ । तीमध्ये होली पनि एक हो । होली नेपाल–भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको एक महìवपूर्ण चाड हो । बिशेष गरि होली रङहरूको चाड भनेर छिन्न सकिन्छ। सृष्टिको आरम्भ काल देखि नै ब्रह्माण्डमा रङको विशेष महत्व रहेको पाइन्छ । यी रङहरू केवल मनोरञ्जन र आकर्षकका लागि मात्र नभई यिनीहरूको धार्मिक तथा आध्यात्मिक महत्व रहदै आएको छ । नीलो रङले मानवता र धैर्यतालाई दर्शाउँछ । नीलो रङ सर्व–समावेशीपन पनि दर्शाउँछ । समुद्रको रङ नीलो छ, आकाशको रङ पनि नीलो नै छ । नीलो रङलाई धर्म–युद्धको प्रतीक मानिन्छ । नीलो वर्णका श्रीहरिले अधर्म नाश गरी धर्मको रक्षा गर्न प्रत्येक युगका अवतार लिँदै आएको धार्मिक मान्यता छ । लोककल्याणका लागि विषपान गरेर महादेव नीलकण्ठको रूपमा कहलिए ।
यसैगरी, कृष्णलाई पनि निलो वर्णकै रूपमा देखाइन्छ । अस्तित्वमा जे विशाल छ र जे हाम्रो बोद्यभन्दा पर छ तिनको रङ नीलो हुन्छ । रातो रङ जीवन्त रङ हो । रगतको रङ पनि रातो नै हुन्छ । मानव चेतनाको सन्दर्भमा रातो रङले सबैभन्दा बढी कम्पन सिर्जना गर्छ । जोस र उल्लासको रङ पनि रातो हुन्छ । देवीसंँग सम्बन्धित साधना गर्नका लागि रातो रङ आवश्यक हुन्छ । शक्ति र सौभाग्यको प्रतीकको रूपमा पनि रातो रङ लिइन्छ । त्यसैले देवताहरू रातो रङको पहिरन लगाउने गर्थे भन्ने मान्यता रहिआएको छ । पहिलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । पहेलो रङ भक्ति धर्म परायणताको प्रतीकको रूपमा लिने गरिन्छ । मनोचिकित्सकको भनाइअनुसार, पहेलो रङ मनपर्ने मानिस रमाइलो, व्यावहारिक, आत्मीय र सरल स्वभावका हुन्छन् ।
हरियो रङ प्राकृतिक रङ हो । त्यसैगरी, सेतो रङलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास गर्नेहरू सेतो रङ विशेष रुचाउँछन् । पहिले पहिले होलीका लागि प्राकृतिक रङहरूको प्रयोग गरिन्थ्यो । केशर, चामलको पिठो, चन्दनलगायतका रङ र अबिरले छालाको रोग निवारण गर्ने र शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने मान्यता आयुर्वेदले गरेको छ । त्यसैगरी, होलीको प्रारम्भमा बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगको कीटाणु निर्मूल हुने कुरा आयुर्वेदमा उल्लेख छ ।