काठमाडौं । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण पौने ३० खर्ब रुपैयाँ बराबर कायम भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त)सम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण असार मसान्तको तुलनामा केही कम हो । असार मसान्तमा २९ खर्ब ८१ अर्ब ७० करोड बराबर थियो ।
सरकारले प्राप्ति गरेको ऋणको तुलनामा भुक्तानी बढी हुँदा कुल सार्वजनिक ऋण सामान्य घटेको हो । भदौ महिनासम्म विनिमय दरमा भएको नोक्सानीका कारण ४३ करोड ६३ लाख ऋण थप भएको छ । यस महिनासम्म कुल आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा क्रमशः २०.६३ र २४.४१ प्रतिशत बराबर हो । भदौ महिनासम्म कुल सार्वजनिक ऋण जीडीपीको आधारमा ४५.०५ प्रतिशत हुन आउँछ ।
भदौसम्म सरकारले कुल ६१ अर्ब ५ करोड ऋण लिएको छ । यसै अवधिमा ७० अर्ब १३ करोड रुपैयाँ (ब्याजबाहेक)भुक्तानी गरिएको छ । जसले गर्दा समग्र सार्वजनिक ऋण गत आवको असार मसान्तको तुलनामा केही कम भएको हो ।



















