काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जलपान कार्यक्रममा लिङ्देनले नियमित रूपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको तर्क गरे ।
देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनको बताए । सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउँदै अध्यक्ष लिङ्देनले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
अध्यक्ष लिङ्देनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलब्धीपूर्ण रहेको बताए । उनले भने, ‘अर्को वर्ष सरकार आफैंले यो दिवस मनाओस् ।’
जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरु, विभिन्न दलका नेता कार्यकता तथा शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।