बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन ८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियाे । मृतक महरा सशस्त्र प्रहरीकाे बाजुरास्थित आश्रित गुल्ममा हवलदार पदमा कार्यरत रहेका थिए ।
बाजुराबाट बझाङकाे गाडीमा घर आएका महरा खोड्पे बजारमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले ठक्कर दिदा उनकाे घटनास्थलमै मृत्यु भएको र ठक्कर दिने बस र चालक फरार भएका थिए ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको उक्त बसले महरालाई ठक्कर दिएको खुल्न आएको छ। त्यसपछि बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयो ।
यसैबीच महराकाे मृत्युुपछि ठक्कर दिने गाडी पहिचानको माग राखेर शव सडकमै राखेर आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए।
महरालाई ठक्कर दिने बस र चालकको पहिचान भएर प्रहरीले पक्राउ गरेपछि मृतकका आफन्तले अवरुद्ध गरेको दशरथचन्द राजमार्ग पनि सुचारु छ ।
मृतकको शव परिक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। मृतक महराका श्रीमती,एक छाेरा र एक छाेरी छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।