Search
Close this search box.
Search
Close this search box.

साउदी पुगेका ९ जना नेपाली ८ महिनादेखि उद्धारको पर्खाइमा

निर्माण क्षेत्रमा काम गर्न साउदी अरब पुगेका नौजना नेपाली कामदार आठ महिनादेखि अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाली दूतावासमार्फत पटक–पटक आग्रह गरे पनि सुनुवाइ भएको छैन । सामाजिक सञ्जालमा भिडियो राखेर पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

मासिक ४७ हजार रुपैयाँ तलब पाउने गरी काठमाडौंको फजल इन्टरनेसनलमार्फत साउदी पुगेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ७ का बद्री खत्वे, बुधु कामैत, दिपेन खत्वे र रामलखन खत्वे अलपत्र परेका हुन् । त्यस्तै, सप्तरीको सुरुंगा नगरपालिका– ७ का भगवानी राम र रमेश राम, सिराहाको लहान नगरपालिका– १९ का दसनीलाल मोची, महोत्तरीका अजिम कवाडी, दाङको तुलसीपुर उपमहानगरपालिका– ५ का धनबहादुर ओली पनि उनीहरूसँगै उद्धारको पर्खाइमा छन् ।

उनीहरू ३० सेप्टेम्बर २०२२ मा काठमाडौंबाट साउदी उडेका थिए । सुरुको पाँच महिना भवन निर्माणमा काम गरे पनि कम्पनी नै बन्द भएपछि उनीहरू अलपत्र परेका हुन् । फजल इन्टरनेसनलले साउदीको सनाद कन्स्ट्रक्सन एन्ड सिभिल इन्जिनियरिङ नामक कम्पनीका लागि आफूहरूलाई पठाएको दसनीलालले टेलिफोनमा बताए । ‘तर, पाँच महिनामै कम्पनी बन्द भएपछि हामीहरू जेद्दा सहरमा अलपत्र परेका छौँ,’ उनले भने । 

बन्द भएपछि कम्पनीले सुरुमा उनीहरूलाई अर्को व्यवस्था नभएसम्म खाने–बस्ने व्यवस्था गर्ने भनेर होटेलको एउटा कोठा लिएर राखेको थियो । तर, एक महिनायता खानाको खर्च नै नदिएको दसनीलालले बताए । ‘सुरुमा खान र बस्न खर्च दिएको थियो । अहिले एक महिनादेखि खानाखर्च पनि पठाएको छैन । नजिकैको मस्जिदबाट खानेकुरा मागेर पेट पालिरहेका छौँ,’ उनले भने, ‘हामीलाई यतै काम दिलाइदिनुपर्‍यो कि नेपाल फर्काइदिनुपर्‍यो ।’

छिमेकीसँग सयकडा पाँच रुपैयाँ ब्याजमा दुई लाख ऋण काढेर दसनीलाल साउदी गएका थिए । घरमा आमा, बुबा, पत्नी र छोराछोरीसहित सातजनाको परिवार छ । ‘धनुषाका एजेन्ट अभिनाश यादवले म्यानपावर कम्पनीसँग सम्पर्क गराइदिएका हुन्, यता पठाएर अलपत्र पार्‍यो,’ उनले भने । 

अलपत्र परेकाहरू स्वदेश फर्काइदिन साउदीस्थित नेपाली दूतावास धाइरहेका छन् । तर, दूतावासले घर फर्कन अझै १५/२० दिन लाग्ने बताएको सुनसरी घर भएका बुधु कामैतले बताए । ‘हामीले पहिले पनि निवेदन दिएका थियौँ । तर, घर फर्किन पनि कस्तो भिसा चाहिने हो कुन्नि, भिसा लागेन भन्यो,’ उनले टेलिफोनमा भने, ‘अहिले फेरि निवेदन दिएका छौँ । अझै केही समय लाग्छ भनेको छ ।’ कामैत मेनपावर कम्पनीका स्थानीय एजेन्ट जितेन्द्र मण्डललाई एक लाख ६० हजार बुझाएर साउदी पुगेका थिए । मण्डलको घर पनि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामै हो । 

साउदीमै रहेका सप्तरीका भगवानीले भने – ‘ऋण काढेर साउदी आए, यहाँ आफ्नै पेट कसरी पाल्ने भन्ने भइरहेको छ ।’ कि कामको व्यवस्था गरिदिन कि घर फर्काइदिन आफूहरूले आग्रह गरेको उनले बताए । 

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले काम नपाएर समस्यामा परेका नेपालीलाई त्यहाँस्थित दूतावासले कम्पनीसँग समन्वय गरिदिने बताए । ‘समन्वय गरेर काम गराउन सकिने भए दूतावासले गरिदिन्छ, उद्धार गर्नुपर्ने भए हामीले पनि सहयोग गर्छाैँ,’ उनले भने, ‘म्यानपावरले ठगेको हो भन्ने लागेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *