झापा।
भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले आदिवासी सन्थाल जातिको मौलिक संस्कृति, भाषा, धर्म, र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भोलि स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
भद्रपुर नगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार माघ १५ गते नगरक्षेत्रभित्र सार्वजनिक बिदा घोषणा गरेको छ। यस अवधिमा नगरपालिका कार्यालय, वडा कार्यालय, तथा नगरपालिकाअन्तर्गतका सबै निकाय र शैक्षिक संस्थाहरू बन्द रहनेछन्। तथापि, बारुणयन्त्र, सरसफाइ, र अन्य अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ।
यस्तै, कचनकवल गाउँपालिकाले माघ ६ गते बसेको गाउँ कार्यपालिकाको बैठकमार्फत सन्थाल समुदायको प्रमुख चाड सोहराय पर्व लाई सम्मान गर्दै एकदिने सार्वजनिक बिदा घोषणा गरेको छ। गाउँपालिकाले बिदाको दिन सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, र वडा कार्यालयहरू बन्द रहने जानकारी गराएको छ।