Search
Close this search box.
Search
Close this search box.

हात्तीको आक्रमणबाट बेलबारीमा पुरुषको मृत्यु

बेलबारी । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ ।

बाटो हिँड्नेहरुले जंगलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ ।

माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेका थिए । मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै गर्दा घटना भएको प्रहरीको भनाइ छ । घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती बढी नै आक्रामक हुन्छ । घरेलु मदिरा बनाउने गरिएका घरहरुलाई लक्षित गरेर हात्तीले वितण्डा मच्चाउने गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर २०–२२ वटाजति हात्ती देखा परेका थिए । स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जंगलतर्फ धपाएको जानकारी डीएसपी दाहालले दिए । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती देखा परिरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *