Search
Close this search box.
Search
Close this search box.

१९ महिनामै २१ पटक बढ्यो इन्धनको मूल्य

काठमाण्डौ । कोभिड महामारीपछिको १९ महिनामा पेट्रोलमा प्रतिलिटरमा ४०, डिजेलमा ३१ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले स्थानीय बजारमा पनि बढेको नेपाल आयल निगमको दाबी छ । निगमले १९ महिनामा २१ पटक इन्धनको मूल्य बढाएको छ भने यस अवधिमा ३ पटकमात्र मूल्य घटाएको छ ।


ग्यासको मूल्य २०७७ माघ २८ गते २५ रुपैयाँ बढाएर १४ सय रुपैयाँ, चैत २२ गते २५ बढाएर १४ सय २५ रुपैयाँ, २०७८ भदौ ७ गते २५ रुपैयाँ बढाएर १४ सय ५०, कात्तिक १२ गते ५० रुपैयाँ बढाएर १५ सय रुपैयाँ र कात्तिक २४ गते ७५ रुपैयाँ बढाएर १५ सय ७५ रुपैयाँ मूल्य कायम गरेको छ ।

EPIC EPIC EPIC


२०७६ साल चैत महिनामा ९६ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले बढेर १ सय ३६ पुगेको छ । यस्तै, १९ महिनाअघि ८८ रुपैयाँ रहेको डिजेल-मटीतेलको मूल्य लिटरमा ३१ रुपैयाँले बढेर हाल १ सय १९ पुगेको छ । यस्तै सो अवधिमा १ हजार ३ सय ७५ रुपैयाँ रहेको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढेर १ हजार ५ सय ७५ पुगेको छ ।


निगम प्रवक्ता वीनितमणि उपाध्याय डेढ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएकोले स्थानीय बजारमा बढेको बताउँछन् । इन्धनमा सरकारले विभिन्न शीर्षकमा कर लगाएका कारण यसको मूल्य बढ्न गएको उनले बताए । नोभेम्बर १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उच्च कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गरेका कारण निगमले दैनिक घाटा बेहोरिरहेको उनको तर्क छ । तर, उपभोक्तावादी संस्थाहरु तथा विद्यार्थी संगठनले भने निगम नाफामा गएको भन्दै कर्मचारीले विगतका वर्षमा विभिन्न नाममा बोनस खाएको तर घाटामा जाँदा उपभोक्ताको ढाड सेकाएको आरोप लगाएका छन् । घाटा सामाजिकीकरण गर्ने तर नाफा कर्मचारीकरण गर्ने गरेको उनीहरुको आरोप छ ।


अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले आगामी दिनमा मूल्य थप बढ्ने प्रवक्ता उपाध्यायले बताए । निगमका अनुसार यसअघि २०७० मा पहिलो पटक पेट्रोलको मूल्य १ सय ४० रुपैयाँमा कायम भई नयाँ रेकर्ड कायम गरेको थियो । यसपटक पुरानो रेकर्ड तोडिन सक्ने निगमको अनुमान छ ।
हाल निगमले डिजेल ८२.२१ रुपैयाँमा खरिद गरी ११९ रुपैयाँमा बिक्री गरिरहेको छ । निगमले पेट्रोलमा सरकारले सम्पूर्ण सरकारी राजस्व र मूल्य अभिवृद्धि करबापत प्रतिलिटर ५७.३६ रुपैयाँ, ढुवानी भाडा तथा बिमा खर्चवापत प्रतिलिटर ५.०१ रुपैयाँ, निगमको प्रशासनिक खर्चवापत ०.७० रुपैयाँ, प्राविधिक नोक्सानीबापत १.०७ रुपैयाँ र बिक्रेताको खर्च नाफा ५.३२ रुपैयाँ गरी १५३.५८ रुपैयाँ प्रतिलिटर परेको निगमको भनाइ छ । त्यसमा निगमले प्रतिलिटर पेट्रोलमा १७.५८ रुपैयाँ घाटा व्यहोरेर १३६ मा बिक्री गरिरहेको जनाएको छ ।


त्यसैगरी, डिजेलमा पनि निगमले आईओसीसँग गत नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेलमा सरकारलाई सम्पूर्ण सरकारी राजस्व मूल्य अभिवृद्धि करबापत ४०.४१ रुपैयाँ, ढुवानी भाडा तथा बिमा खर्चबापत ३.७७ रुपैयाँ, निगमको प्रशासनिक खर्च ०.६९ रुपैयाँ, प्राविधिक नोक्सानी ०.६२ रुपैयाँ, बिक्रेताको नाफा खर्च ४.१७ रुपैयाँ गरी प्रतिलिटर निगमलाई १३२.१४ रुपैयाँ परेको निगमले जनाएको छ । त्यसमा निगमले १३.१४ रुपैयाँ घाटामा प्रतिलिटर ११९ रुपैयाँमा बिक्री जनाएको छ ।


यस्तै निगमले एलपीजी ग्यास १ हजार ६ सय १४ रुपैयाँमा खरिद गरेको जानकारी दिएको छ । त्यसमा निगमले राजस्व र कर गरी २ सय ७८.८६ रुपैयाँ, निगमको खर्च शुल्क १०.७३ रुपैयाँ, ढुवानी भाडा, बिमा र बिक्रेताको नाफा र खर्चमा ३ सय ६८.०२ रुपैयाँ गरी २२ सय ३२.८४ रुपैयाँ परेको उल्लेख गरेको छ । निगमले एलपीजी ग्यासमा ६५७.८४ रुपैयाँ घाटा खाई १५ सय ७५ रुपैयाँमा बिक्री गरेको पनि दावी गरेको छ । कारोवार दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *