Search
Close this search box.
Search
Close this search box.

इलामको चियामा डढुवा, थ्रिप्स र सिन्दुरेको प्रकोप

इलाम । कहिले मूल्य र कहिले निर्यातको समस्या भोगिरहेका किसानलाई यो वर्ष चियाको बोटमा देखिएको रोगले चिन्तित बनाएको छ । उत्पादन झण्डै आधा घटाउने गरी चियामा मुना पिल्सिने ९थ्रिप्स०, सिन्दुरे र डढुवा रोग देखिएको किसानले बताएका छन् ।

हरेक बर्खामा प्रायः यो रोग देखिने भए पनि थोरै क्षेत्रफल र छोटो समय मात्रै रहन्थ्यो । असार र साउनको केही समयसम्म मात्रै रहने यो रोग अहिले असोज तेस्रो सातासम्म नहटेपछि उत्पादन कम हुने निश्चित भएको छ । टिप्ने बेलाको पत्तीमा कालो थेग्ला बस्ने, त्यही थेग्ला मुना, पात सबैतिर ढाकेर बोटै कालो हुने र पातमा फोका आउने समस्या देखिएको किसानले जनाएका छन् ।

साखेजुङका किसान डम्बर खत्रीले यो साल रोगले झण्डै आधा पत्ती नष्ट भएको बताए । ‘यो नयाँ रोग होइन तर पत्ती नै सकिने गरी फैलियो,’ उनले भने, ‘पोहोर÷परारतिर असारमा केही समय रहन्थ्यो, अहिले भने असोजमा पनि फैलिने क्रम रोकिएको छैन ।’साखेजुङ अर्गानिक चिया उद्योगका सञ्चालकसमेत रहेका खत्रीले पोहोर ४० हजार किलो तयारी चिया उत्पादन भएको उद्योगमा यो वर्ष २० हजार किलो हाराहारी मात्रै भएको बताए । ‘उद्योगमा यहाँका ८४ किसानले हरियोपत्ती ल्याउँछन्, सबैको बगानमा थ्रिप्सको प्रकोप छ’, उनले भने, ‘यो वर्षको हरियोपत्ती टिपाइ सकिने बेला पोहोरको तुलनामा आधाजति मात्रै प्रशोधन भयो ।’तीन हजार किलो क्षमताको उद्योगले अहिले दैनिक ८ देखि ९ सय किलो हरियोपत्ती प्रशोधन गरिरहेको छ । ‘यो साल बढी पानी परेको र हुस्सु लागेकाले पनि हरियोपत्ती उत्पादन कम भयो,’ उनले भने, ‘मुख्य सिजनमा भएको लकडाउनले हरियोपत्ती टिप्न असर पुग्यो ।’ किसानले यो वर्ष गत वर्षको तुलनामा निकै कममात्र हरियोपत्ती उत्पादन गर्न सकेको उनले जनाए ।

जिल्लाको पूर्वी क्षेत्रका किसान पनि चियामा देखिएको यही रोगका कारण समस्यामा छन् । न्यूनतम मूल्यसम्म नपाए पनि आफूले उत्पादन गरेको हरियोपत्ती टिपेर उद्योगलाई बेच्न बाध्य किसान यो वर्ष रोगले चिया सखाप बनाएको सुनाउँछन् । सूर्योदय नगरपालिका–१० का हरि सुवेदीले यो वर्ष पोहोरको आधा पनि पत्ती उत्पादन नभएको बताए ।चियामा थ्रिप्ससहित डढुवा रोग फैलिएको उनको भनाइ छ । ‘डढुवा लागेपछि चियाको पातमा फोका आउँछ, मुना चाहिँ कालो भएर पिल्सिन्छ र सखाप हुन्छ,’ उनले भने, ‘यो साल लामो अवधिसम्म यही रोग रहेकाले उत्पादन अत्यन्तै न्यून भयो ।’सूर्योदय नगरपालिकाकै अर्का किसान सन्त बस्नेतले यो वर्ष हरियोपत्ती निकै कम उत्पादन भएको बताए । ‘यो वर्ष न मूल्य राम्रो पाइयो, न उत्पादन नै राम्रो भो,’ उनले गुनासो सुनाए, ‘किसानलाई हरियो चिया बेचेर गुजारा गर्न कठिन हुन थालिसक्यो ।’सूर्योदय नगरपालिकामा हरियो चियापत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ छ । तर २०७५ र ०७६ सालमा कार्यान्वयन भएको मूल्य यो वर्ष उद्योगीले कोरोनाको कारण देखाउँदै कार्यान्वयन गर्न नमानेपछि किसान समस्यामा छन् ।

केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले यी रोगले इलामसहित अन्य जिल्लाका सयौं किसानको हरियोपत्ती नष्ट भएको जनाए ।घरायसी उपचार र औषधीले चियाको रोग नगएको किसानको गुनासो छ । जानकारले भने बढी चिसो र हुस्सु लाग्ने ठाउँको चियामा यो रोग देखिने बताएका छन् । स्याहार नपुगेको बोटमा बढी लागेको हुन सक्ने भएकाले अर्गानिक चियालाई पुग्दो मल र जैविक औषधि प्रयोग गर्न उनीहरू सुझाउँछन् ।‘चियालाई स्याहार पुगेन भने मुनामा कालो दाग बस्छ, फोका आउँछ,’ उद्योगी तथा चियाका जानकार चन्द्रभूषण सुब्बा भन्छन्, ‘यो रोग लागेको चियाको मुना टिपेर फ्याँकिदिएर अन्यत्र फैलिनबाट जोगाउनुपर्छ ।’ नागरिक दैनिकबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *