झापा (पालिका सन्देश)। पछिल्लो तीन बर्षको तथ्यांकालाई हेर्दा झापा जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गइरहेको पाइएको छ । कृषकले उचित मूल्य नपाउँदा जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो ।
झापामा चालू आर्थिक वर्ष २०८२÷०८३ मा १६ हजार सात सय ५८ हेक्टर क्षेत्रफलमा ८९ हजार छ सय ५५।३ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् । जुन परिमाण गत वर्षको तुलनमा सात हजार चार सय ७८।७ मेट्रिकटन कम हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा १९ हजार नौ सय ५० हेक्टरमा एक लाख छ हजार एक सय ३४ मेट्रिक टन चैते धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार आठ सय ५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा धान खेतीको क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ ।
आव २०८०÷०८१ मा चैते धानको उत्पादकत्व ५।२४ थियो । आव २०८१÷०८२ मा ५।३२ पुगेको छ भने चालू आव २०८२÷०८३ मा ५।३५ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उचित मूल्य नपाएपछि धेरैजसो कृषकहरू धान खेती छाडेर मकै तथा अन्य बालीतर्फ मोडिएका छन् । आव २०८२÷०८३ मा जिल्लामा ४६ हजार एक सय २५ हेक्टरमा गरिएको मकै खेती गरिएको थियो । जसमा दुई लाख ८३ हजार एक सय ८७।८८ मेट्रिक टन मकै उत्पादन भएको छ ।
गत आव २०८१÷०८२ मा ४४ हजार छ सय २० हेक्टरमा तीन लाख ५१ हजार चार सय २६।४५ मेट्रिक टन मकै उत्पादन भएको थियो । यस पटक वर्षाका कारण मकै उत्पादनमा कमी आए पनि उत्पादकत्व ७।८८ बाट वृद्धि भई ७।८९ पुगेको छ ।
धान सुपरजोन कचनकवलकी कृषक पुष्पा रिमालले चैते धानको मूल्य नपाउँदा कृषकहरु मकै खेतीतर्फ आकर्षित भएको बताउनुभयो । “धानको मूल्य नै नपाएपछि मकै खेती गरें”, उने भनिन्, “दाम राम्रो भएपनि वर्षाले नोक्सान गर्यो ।”



















