Search
Close this search box.
Search
Close this search box.

सिकाइ असक्षमताः एक अध्ययन

Learning Disability: A Study

-हरिप्रसाद पोखरेल

सिकाइ असक्षमता बालबालिकाहरूमा देखिने एक जटिल समस्या हो । यसलाई छोटकरीमा LD. वा I.D. भनिन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता विषयहरूमा अनुसन्धान गर्नु र यसको समाधान खोज्नुमा सरोकारवालाको खासै ध्यान पुग्न सकेको देखिएको छैन ।

EPIC

मानिसको स्नायु प्रणालीमा देखिने खराबीको कारण यो समस्या जटिल रुपमा रहेको छ । स्नायु प्रणालीको बनावट एवम् कार्यमा हुने असन्तुलनको कारण यो समस्या उत्पन्न हुन्छ । यस प्रकारको समस्याले ग्रसित बालबालिकाहरू पढ्न, लेख्न, बोल्न र दैनिक जीवनमा आधारभूत कार्य गर्न समेत नसक्ने हुन सक्छन् । यस्ता बालबालिकाहरूलाई अन्य सामान्य बालक सरह जीवनयापन गर्न सक्ने बनाउनु एउटा ठूलो चुनौती हुन्छ । यिनीहरूका निम्ति छुट्टै शिक्षण विधिको प्रयोग गरी शिक्षण गर्नु जरुरी हुन्छ ।

सामान्य विद्यार्थी र यस्तो समस्या भएका बालबालिकालाई एउटै कक्षाकोठामा एउटै विधि र प्रक्रियाले शिक्षण गर्नु प्रत्युत्पादक हुन्छ । लामो समयको शिक्षण अनुभवमा यस्ता थुप्रै समस्याहरू देखिएका छन् तर प्रभावकारी समाधान हुन सकिरहेका छैनन् । जानकारी हुँदाहुँदै पनि बाध्यताबस कर्म गर्न बाध्य छौं, हामी शिक्षक एवम् अभिभावक वर्ग ।

सम्पूणलाई यस विषयमा केही जानकारी प्राप्त होस् र समस्या समाधानका लागि विकल्पको खोजी समेत होस् भन्ने अभिप्रायले यो अनुसन्धानमूलक लेख तयार पारिएको छ । विभिन्न पुस्तकहरूको अध्ययन एवम् इन्टरनेट मार्फत विभिन्न वेभसाइट भित्र छिरेर तथ्यहरू संकलन गरी लेख तयार पारिएको छ । लेखले मानसिक अपाङ्गताको कुनै एउटा पाटोलाई मात्र उजागर गर्ने जमर्को गरेको छ । यस भित्रका विविध पक्षको बारेमा आवश्यकता अनुसार गहिरिएर अध्ययन पश्चात् अन्य लेख मार्फत प्रस्तुत गर्ने अठोट गर्दछु ।

अध्ययनको उद्देश्यहरूः

  • सिकाइ असक्षमता सम्बन्धि चेतना जागृत गरी समस्यामा परेकालाई सहयोग उपलब्ध गराउने ।
  • अभिभावक वर्गमा समस्याको पहिचान गर्ने र आवश्यक विकल्पको खोजी गर्न उत्प्रेरित गर्ने ।
  • यस्तो समस्या भोगिरहेका बालबालिकामा हुने विभेदको अन्त्य गर्दै प्रभावकारी शिक्षण विधि छनौटमा सहयोग पुर्याउने ।
  • स्थानीय सरकारलाई सिकाइ असक्षमता भएका बालबालिकाका निम्ति छुट्टै वा विशेष विद्यालय स्थापना गर्न उत्प्रेरित गर्ने ।

सिकाई असक्षमता (Learning Disability) के हो ?

  • हाम्रो मस्तिष्क विभिन्न ज्ञानेन्द्रियहरू मार्फत प्राप्त गरेको सूचनाहरूलाई विश्लेषण गरी सो सूचनाको प्रतिक्रिया स्वरूप अर्को सूचना सम्प्रेषण गरिरहेको हुन्छ । कुनै कारणले यो कार्यमा अवरोध भएको अवस्थामा देखिने स्नायु प्रणालीको समस्या नै ‘सिकाइ असक्षमता’ भनिन्छ ।
  • हामीले देखेका, सुनेका, अनुभव भएका सूचनाहरूलाई हाम्रो शरीरमा रहेका स्नायुहरूले बोकेर मस्तिष्क सम्म पु¥याउँछन् । मस्तिष्कको विभिन्न भागहरूमा छुट्टाछुट्टै तबरले ती सूचनाहरूको विश्लेषण हुन्छ र मस्तिष्कबाट निर्देशनात्मक सूचना सम्प्रेषण गरी अङ्गहरूमा पठाइन्छ । जसको परिणाम स्वरुप हामी देख्छौं, सुन्छौं, बोल्छौं, विभिन्न अनुभूतिहरू गछौं । यस प्रणालीलाई स्नायु प्रणाली भनिन्छ । यस प्रणालीको बनावट र कार्यमा अवरोध सिर्जना भएको खण्डमा ‘सिकाई असक्षमता’ लगायत अन्य मानसिक अपाङ्गता सम्बन्धि समस्याहरू देखिन्छन् ।
  • सिकाइ असक्षमता भएका बालबालिकाहरू सामान्य जस्तै देखिए तापनि उनीहरूमा लेखाइ, पढाई, बोलाइ, सुनाइ जस्ता कुरामा समस्या हुन्छ । उनीहरूले सामान्य गणितीय समस्या समेत समाधान गर्न नसक्ने एवम् दैनिक जीवनमा सामान्य कार्य गर्न समेत नसक्ने हुन्छन् ।
  • यो कुरामा प्रष्ट हुन जरुरी छ कि शारीरिक एवम् मानसिक रोगका कारण, आर्थिक अवस्थाले गर्दा, विभिन्न सामाजिक समस्याले गर्दा वा सामाजिक÷सांस्कृतिक परिवेशले गर्दा बालबालिकामा ‘सिकाई असक्षमता’ हुदैन ।

यो चाहिं सिकाइ असक्षमता होइन है ।

  • कुनै विद्यार्थी ढिलो सिक्छ । धेरै पटक प्रयास गर्दा मात्र सिक्न सक्छ र आफ्नो लक्ष्यमा पुग्न सक्छ भने यस्तो अवस्थालाई ‘सिकाई असक्षमता’ को परिभाषा भित्र राख्न मिल्दैन ।
  • कुनै बालबालिका नयाँ कुरा सिक्न अनिच्छा जनाउँछ । जस्तै नयाँ भाषा, नयाँ खेल आदि भनें त्यो सिकाइ समस्या होइन । कुनै विषयमा चाख नहुनु, नयाँ परिवेशमा सहजै घुलमिल हुन नचाहनु ‘सिकाई असक्षमता” भित्र पर्दैन ।

“सिकाइ असक्षमता” का कारणहरू के के हुन सक्छन् ?

विज्ञहरूका अनुसार सिकाई असक्षमता (LD) को कुनै विशेष वा एउटै मात्र कारण हुँदैन । यसका विषयमा अहिले सम्म पनि विभिन्न अनुसन्धान भइरहेका छन् । यद्यपि यस समस्या निम्त्याउन सक्ने कारणहरूको बारेमा यहाँ चर्चा गरिन्छ ।

  • अधिकांश अवस्थामा यस्तै समस्याबाट ग्रसित आमा-बाबुबाट जन्मिने बालकहरूमा यस्तो समस्या वंशाणुगत रुपमा देखिन सक्छ ।
  • शिशु जन्मदाको प्रसव अवधि लामो भएमा, प्रसवमा बढी बल प्रयोग गर्नुपर्ने भएमा, बाह्य औजार प्रयोग गर्नुपर्ने भएमा शिशुको मस्तिष्कमा चोट पुग्न जान्छ र मस्तिष्कको विकासमा समस्या हुन्छ । परिणाम स्वरुप शिशुमा ‘सिकाई असक्षमता’ देखिन्छ ।
  • शिशु जन्मेपछि विभिन्न संक्रमण भई तत्काल कडा औषधी प्रयोग गर्नुपर्ने भएमा त्यसको साइड इफेक्टको रुपमा मस्तिष्कको विकास र कार्यमा समस्या भई ‘सिकाई असक्षमता’ देखिन सक्छ ।
  • गर्भावस्थामा आमाले पर्याप्त पौष्टिक तत्व खान नपाएर पेटभित्रको बच्चाको मस्तिष्क विकास राम्ररी हुन नसकेको अवस्थामा ।
  • शिशुलाई उच्च ज्वरो आई मस्तिष्कमा आघात पुगेमा ।
  • शिशु अवस्थामा कुनै कारणले मस्तिष्कमा भित्री चोट लागेमा ।
  • कमजोर पोषणका कारण शिशुको मस्तिष्कको विकास राम्रोसँग हुन नसकेमा ।

‘सिकाइ असक्षमता’ कस्ता कस्ता प्रकारका हुन्छन् ?

यस शीर्षक अन्तरगत केही ‘सिकाइ असक्षमता’ का प्रकारहरू उल्लेख गरिएको छ । यो हाम्रो जानकारीको लागि मात्र हो । वास्तविक ‘सिकाइ असक्षमता’ हामी पहिचान गर्न सक्दैनौं । विशेषज्ञता हाँसिल गरेका विज्ञहरूबाट मात्र यसको पहिचान हुने गर्छ । तसर्थ हामीले ‘सिकाई असक्षमता’ भएका विद्यार्थी पायौं भने अभिभावकसँग परामर्श गरी उसलाई विज्ञ समक्ष पु¥यान सहयोग गर्नुपर्ने हुन्छ ।

  • Dyscalculia: गणितीय अङ्कहरू चिन्न नसक्ने, द्विविधा हुने र गणितीय तथ्यहरू बुझ्न नसक्ने समस्या ।
  • Dysgraphia:  हस्तलेखनमा समस्या, अंगहरू, औंलाहरू हातको चाल आदिमा देखिने समस्या ।
  • Dyslexia: भाषा सम्बन्धि, उच्चारण समबन्धि समस्या ।
  • Dyspraxia: शारीरिक चाल, सन्तुलन, बोली सम्बन्धि समस्या ।
  • Non-verbal learning disability (N.V.L.D): अनुहारमा उपर्युक्त भाव, शारीरिक हाउभाउ र कमजोर समन्वयको समस्या ।
  • Attention deficit hyperactivity disorder (ADHD): एकाग्र भएर बस्न नसक्ने, शारीरिक नियन्त्रण/उत्तेजना नियन्त्रण गर्न नसक्ने, व्यवहार सम्बन्धि समस्या एवम् अति चञ्चलता सम्बन्धि समस्या ।

सिकाइ असमर्थताका चिन्ह तथा लक्षणहरू के के हुन् ?

सामान्य बालबालिकामा उमेर अनुसार मानसिक विकास हुँदै गएको पाइन्छ । उनीहरूमा सन्तुलित रुपमा शारीरिक, मानसिक तथा संवेगात्मक विकास तथा समन्वय हुँदै गएको पाइन्छ । तर सिकाइ समस्या भएका बालबालिकाहरूमा विभिन्न समस्याहरू देखिन्छन् । जसलाई हेरेर हामी सिकाइ समस्या पहिचान गर्न सक्छौं ।

स्कूल जानु अगाडिः

स्कूल जानु अघि बालबालिकामा यस्ता समस्या देखिए सिकाइ समस्या हुन सक्छः

  • सामान्यतया बालक १५–१८ महिनामा बोल्न शुरु गर्छ । यो उमेरभित्र बालकले बोल्न शुरु गरेन भनें सिकाई समस्या हुन सक्छ ।
  • सामान्य शब्दहरूको उच्चारणमा कठिनाई भएमा ।
  • अक्षरहरू चिन्न, अङ्कहरू चिन्न गाह्रो भएमा ।
  • अङ्कहरू, कविता, श्लोक वा गीत याद गर्न नसकेमा ।
  • कार्यमा एकाग्रता नदेखिएमा ।
  • नियम पालना नगरेमा वा भनेको नटेरेमा ।
  • उमेर अनुसारको शारीरिक काम गर्न नसकेमा ।

प्राथमिक तहमा

  • अक्षरहरू र उच्चारण बीच समन्वय गर्न नसकेमा ।
  • उस्तै उच्चारण हुने शब्दहरू/अक्षरहरू छुट्याउन नसकेमा ।
  • सही तरिकाले उच्चारण गर्न र लेख्न नसकेमा ।
  • अंक तथा अक्षरहरूमा भ्रम भएमा । जस्तैः 25 र 52 बीच द्विविधा भएमा, b र d मा, “on” र “no” मा, “5” र “S”  मा द्विविधा देखिएमा ।
  • वर्णमालाका अक्षरहरू चिन्न नसकेमा ।
  • गणितिय अङ्क एवम् चिन्हलाई सही तरिकाले प्रयोग गर्न नसकेमा ।
  • नयाँ कुरा र सीप सिक्न नसकेमा ।
  • कविता र उत्तरहरू याद गर्न नसकेमा ।
  • समय बताउन नसकेमा ।
  • हात र आँखाको समन्वय गर्न नसकेमा ।
  • पेन्सिल राम्ररी समात्न नसकेमा ।
  • जुत्ताको लेस लगाउन नजानेमा ।
  • सर्टको टाँक लगाउन नजानेमा ।

निम्न माध्यमिक तहमा

  • उस्तै शब्दहरूबीच द्विविधा भएमा जस्तै: (see/sea), (week/weak) आदि ।
  • गृहकार्य गर्न नमानेमा, ठूलो स्वरले पढ्न नसकेमा, कक्षाकार्य गर्न नमानेमा ।
  • लेख्दा कलम बलियो गरी समातेमा ।
  • धेरैपल्ट प्रयास गर्दा पनि तथ्य या दगर्न नसकेमा । सुनेको कुरा वा देखेको कुरा भन्न नसकेमा ।
  • शारीरिक हाउभाउ र अनुहारको हाउभाउ नदेखाएमा । (जस्तै: कुनै कुरामा प्रतिकृया नै नदेखाएमा वा अति प्रतिकृया देखाएमा)

माध्यमिक तहमा

  • लेख्दा बारम्बार गल्ती दोहो¥याएमा ।
  • पढ्न र लेख्न नसकेमा ।
  • उत्तर लेख्न, संक्षेपीकरण गर्न, निस्कर्ष निकाल्न नसकेमा ।
  • कमजोर स्मरण शक्ति देखिएमा ।
  • नयाँ वातावरणमा समन्वय गर्न नसकेमा ।
  • काल्पनिक अवधारणा बनाउन नसकेमा ।
  • काम प्रति लगनशील एकाग्र हुन नसकेमा ।

सिकाइ असमर्थता कसरी पहिचान गर्न सकिन्छ ?

 सिकाइ असमर्थताको पहिचान गर्ने कार्य एक जटिल कार्य हो । यसको पहिचान गर्न सर्वप्रथम बालकको हेराइ, सुनाइ, बोलाइ र शारीरिक विकास परीक्षण गर्नुपर्छ ।

दोस्रो चरणमा मनो–शैक्षिक सहयोग मार्फत परीक्षण गरिन्छ । जसभित्र संवेगात्मक विकास र बौद्धिक क्षमताको परीक्षण हुन्छ । यस परीक्षण पश्चात् बालकमा भएका बौद्धिक कमजोरी तथा सक्षमताको पहिचान हुन्छ ।

सिकाइ असमर्थता भएकाहरूका निम्ति के सहयोग गर्न सकिन्छ ?

बौद्धिक असमर्थताको औषधीय उपचार छैन । यद्यपि हामीले दिने माया, सद्भाव र सहयोगले उनीहरूमा बिस्तारै परिवर्तन आई दैनिक जीवनयापन गर्न सक्ने बन्न सक्छन् । उनीहरूलाई खाँचो हुन्छ– सकारात्मक सहयोगको । हामीले यस्तो समस्यासँग मुकाविला गरिरहेका बालबालिका फेल पा¥यौं भने उनीहरूको अभिभावकसँग परामर्श गर्नुपर्छ । समयमा नै मानसिक स्वास्थ्य विज्ञ, तालिमप्राप्त विशेषज्ञहरूको सहयोग र उपचार पाएको खण्डमा बालबालिकाले आफ्नो बौद्धिक सक्षमता अनुसार कार्य गरी जीवन चलाउन सक्छन् । यसका लागि हामी तपशिल बमोजिम कार्य गर्न सक्छौं:

क) अतिरिक्त सहयोग (Additional Help):

सिकाई असमर्थता भएका बालकहरूलाई सामान्य बालबालिका भन्दा अतिरिक्त सहयोग आवश्यक पर्दछ । यसको निम्ति तालिम प्राप्त विशेषज्ञहरूको सहयोग लिई उनीहरूले भने अनुसार गर्नुपर्दछ ।

ख) व्यक्तिगत सिकाई कार्यक्रम (Individualized Education Program, IEP):

यस्ता समस्या भएका बालबालिकाहरूलाई सामुहिक रुपमा राखेर अन्य गतिविधिमा समावेश गराउनुका अतिरिक्त व्यक्तिगत रुपमा उनीहरूको रुची र क्षमता अनुसारको सिकाइ कार्यक्रम तय गरिनु पर्छ ।

ग) थेरापी (Therapy):

बालबालिकालाई उनीहरूको असमक्षतालाई वर्गीकरण गरी आवश्यक थेरापी गराउनु पर्छ । जस्तै बोल्न, शब्द उच्चारण, वाक्य उच्चारणमा समस्या भए Speech Therapy, संवेगात्मक विकासमा समस्या भएमा Occupational Therapy, शारीरिक रुपमा समस्या भएमा Physio Therapy, मानसिक विकासमा समस्या भएमा I.Q. Therapy  जस्ता उपचार गराई अवस्थामा सुधार ल्याउन सकिन्छ ।

घ) अतिरिक्त एवम् वैकल्पिक थेरापी (Complimentary/Alternative Therapy):

सङ्गीत, नृत्य एवम् आर्ट जस्ता थेरापीहरू पनि सिकाइ असमर्थता भएका बालबालिकाहरूका निम्ति कामयावी सावित भएको कुरा विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

सिकाइ असमर्थता भएका बालबालिकाको अभिभावकहरूले कसको सहयोग लिनुपर्छ ?

क) बालरोग विशेषज्ञ/बाल नशारोग विज्ञ (Pediatrician/Pediatric Neurologist)

ख) बाल मनोरोग विज्ञ (Child Psychiatric)

ग) मनोरोग विशेषज्ञ (Clinical Psychologist)

घ) मनो–परामर्शदाता (Psycho-Counselor)

ङ) विशेष शिक्षादाता (Special Educator)

अध्ययनबाट प्राप्त उपलब्धि/निस्कर्ष:

यो खोजमूलक लेखको अध्ययनबाट तपशिल बमोजिमको उपलब्धि हाँसिल हुनेछ ।

  • शिक्षणमा देखिएका समस्या पहिचान गर्ने सीपको विकास हुनेछ ।
  • हरेक व्यक्तिमा फरक–फरक सिकाइ क्षमता हुन्छ । उसको क्षमताको पहिचानले व्यक्ति, परिवार र समग्र राष्ट्रलाई सहयोग पुग्छ ।
  • विभिन्न क्षमता भएका विद्यार्थीहरू फरक/फरक अध्यापन रणनीति अपनाउन शिक्षकहरू अभिप्रेरित हुनुहुनेछ ।
  • शिक्षकको पेशागत दक्षतामा अभिवृद्धि हुन्छ ।
  • शिक्षकमा समस्यासँग मुकाविला गर्ने र उपयुक्त समाधान खोज्ने सीपको विकास हुन्छ ।
  • अभिभावकहरूमा आफ्ना नानी–बाबुको सिकाइ कमजोरी पत्ता लगाई समाधानको उपयुक्त बाटो रोज्न सहयोग पुग्छ ।

अन्त्यमा मेरो यो खोजमूलक लेखलाई अध्ययन गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै आवश्यक सुझाव राखी दिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

सन्दर्भ सामग्री

  • Mel Gadd               “Masturbation, Austism and Learning disability.”

              ( A Guide for Parents and Professionals)

  • Leena C,                Mammaretia, Romana Cardilo, Jessica Braitman

              “Understanding Non-verbal Learning disability”

  • Petricia Gillespie,  “A successful self-taught reader with five learning disability”

    (A Guide for educators and parents)

“Learning disability in children: Cause, signs and Treatment”

  • https/Idaamerica.org

“Types of Learning disability”

“Learning disabilities and disorders.”

              

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *