ताप्लेजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ताप्लेजुङका ८ वटा स्थानीय तहलाई सामूहिक अलैँची र मकै खेतीका लागि ८५ प्रतितसम्म अनुदान दिने भएको छ ।
परियोजनाले फुङलिङ नगरपाकिलाका सबै वडा, आठराई त्रिवेणी गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा तथा मौवा खोला गाउँपालिकाका १ देखि ६ नम्बरसम्मका वडामायो परियोजना अन्र्तगतको अनुदान दिने भएको हो ।
परियोजनाका अनुसार मारिङदेन गाउँपालिकाका १ देखि ६ नम्बरसम्मका वडा, मिक्वाखोला र फक्ताङ्लुङका गाउँपालिकाका सबै वडा तथा पाथिभरा याङवरकका १ र ३ नम्बर वडामा यो परियोजना अन्तर्गतको अनुदानसहितको सहकार्य गर्ने भएको छ ।
२९ असोजसम्मको समय दिएर परियोजनाले निश्चित सर्तको अधिनमा रहेर कृषक समूह र कृषि सहकारीहरुलाई निवेदन दिन भनेको छ ।
परियोजनाले चाक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि पुँजीगत सहयोग गर्ने छ । जसका लागि समूह या सहकारीले न्युनतम ७ हेक्टर जग्गामा खेती गरिने क्षेत्र तय गर्नुपर्नेछ ।
जोन र सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरणका लागि परियोजनाले ५० प्रतिशत अनुदान दिने छ भने साना सिंचाइ निर्माण र मर्मतमा ८५ प्रतिशतसम्मको साझेदारी गर्ने छ ।
स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना र सुदृढीकरणका लागि ५० प्रतिशत, अलैँची जोन र सुपरजोन क्षेत्रमा थप ३५ हेक्टर क्षेत्रफल विस्तारका लागि ५० प्रतिशत र अलैँची ब्राण्डिङका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।
अलैँची भण्डारण, प्रशोधन तथा प्रशोधन उद्योग खोल्न र खोलिएका उद्योग सञ्चालन गर्न पनि ५० प्रतिशत अनुदान दिने परियोजनाले जनाएको छ ।
परियोजनाका अनुसार अलैँची र मकै जोन क्षेत्रमा पर्ने कृषकहरुले कुनै एक वालीको जोनमा मात्र निवेदन दिन पाउने भनिएको छ ।
अनुदानका लागि बाँझो या यसभन्दा अघि वाली नलगाइएको र एउटै क्लष्टरको जग्गा हुनेलाई मात्र यस्तो अनुदान दिइने परियोजना इकाइ कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख खगेन गुरुङले जानकारी दिए ।