कचनकवल। महिला जनचेतना केन्द्र काँकडभिट्टा र कचनकवल गाउँपालिका वडा ५ को संयुक्त आयोजनामा आइतबार झापाको पाठामारीमा १८६ एकल महिलाहरूलाई झुल वितरण गरिएको छ। टेवाको आर्थिक सहयोगमा महिला मानवीय संकट सहयोग अन्तर्गत कचनकवल गाउँपालिका वडा ५ पाठामारीका एकल महिलाहरूलाई झुल वितरण गरिएको हो। महिला जनचेतना केन्द्र काँकडभिट्टाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशी तथा विशिष्ट अतिथिमा पालिका उपाध्यक्ष नवराज भट्टराई र वडा नं. ५ का अध्यक्ष नुर आलम हुनुहुन्थ्यो। त्यस्तै, कार्यपालिका सदस्य प्रभा राजबंशी, महिला सञ्जाल अध्यक्ष सेलेतुन खातुन लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधानले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगबाट बच्न सचेतना जगाउने तथा झुलको प्रयोगबाट विभिन्न विषालु किरा तथा जन्तुको टोकाइबाट बच्न मदत गर्छ भन्ने जनचेतना जगाउन एकल महिलाहरूलाई झुल वितरण गरिएको संस्थापक अध्यक्ष राधा प्रधानले बताउनुभएको थियो। साथै, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले पालिकाले महिलाहरूको स्वास्थ्य लगायत महिलाका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा थप बजेटको व्यवस्था गरी कचनकवलका महिलाहरूको चौतर्फी विकासमा काम गर्ने बताउनुभएको थियो। कार्यक्रममा सहभागी एकल महिलाहरूले महिला जनचेतना केन्द्रले गरेको सहयोगप्रति खुशी व्यक्त गर्नुभएको थियो।