काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले मन्त्रीजस्तो व्यक्तिले संसदलाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरूमात्र बसेको नठान्न चुनौति दिँदै घिसिङलाई चलाए परिणाम राम्रो नहुने सांकेतिक चेतावनी दिएका छन् ।
कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफूहरू त्यस्ता कर्मचारीको पक्षमा उभिने लिङदेनको भनाई छ । उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई आठ वर्षमा घिसिङले त्यो पूर्ति गरेर ५२ अर्ब खुद नाफामा लगेको दावी गर्दै घिसिङप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश जाने बताए ।
अध्यक्ष लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित विपरीत कार्य नगर्न सुझाव दिए । उनले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरूबाट डेडिकेटेड तथा ट्रंकलाइनवापतको २२ अर्ब रुपियाँ नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने बताए । लिङदेनले आफ्नो स्वार्थका लागि घिसिङलाई हटाउने कामबाट पछि हट्न र परिस्थिति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिए ।
त्यसअघि उर्जामन्त्री दीपक खड्काले संसदमा बोल्दै घिसिङले सरकारलाई नटेरेको, जनतालाई गलत तथ्य प्रस्तुत गरेको, प्राधिकरणको हरहिसाब लुकाएको र नउठेको रकमलाई नाफामा देखाएको भन्दै उनलाई बोक्ने काम नगर्न सुझाव दिएका थिए ।
मन्त्री खड्कालाई नै समर्थन गर्दै उनकै पार्टी नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न विपक्षी दललाई सुझाव दिएका थिए । उनले कुलमान घिसिङलाई देवत्वकरण नगर्न सुझाव दिँदै एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको बताए ।
नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको घिमिरेको भनाइ छ । उनले देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष कुलमानलाई नै बनाउन सुझाव दिएका थिए ।