झापा। कचनकवल गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बनियानी बजारमा रहेको अरुण शाहको दुईवटा कपडा पसल र गोदाममा राजस्व कार्यालय इटहरीले छापा मारेको छ। भारतबाट भन्सार छली गरी कपडा ल्याएको विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले छापा हानेको हो।
झण्डै तीन घण्टा चलेको खानतलासीपछि पसलको सम्पूर्ण कागजात जफत गरिएको छ भने माथिल्लो तलाको एउटा कोठा सिल गरिएको छ। यसअघि पनि सोही व्यापारीबाट ४७ लाख रुपैयाँ बराबरको राजस्व छली गरी ल्याइएका कपडा सशस्त्र प्रहरीले बनियानी बजारबाट जफत गरेको थियो।
नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै झापाका विभिन्न नाकाबाट कपडा तथा लागुऔषध तस्करी भइरहेको देखिएको छ।