पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवाको मृत्यु भएको छ । सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार मंगलबार (६ जेठ) बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो ।
रतुवाको मुख र गर्धनमा चोट लागेको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी चौकी कुरिनटार र स्थानीयको रोहबरमा रतुवालाई खाडलमा पुरी व्यवस्थापन गरिएको रेञ्जर सुवेदीले जानकारी दिए।
स्थानीय वासिन्दा सञ्जय खनालका अनुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट वन्यजन्तु सडक पार गरी पानी खान त्रिशूली नदीतर्फ जाने गर्छन् । गत आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा घाइते भएको थियो । उनका अनुसार केही महिनाको अन्तरालमा लेवाटार आसपासमा तीन वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने दुई वटा घाइते भएका छन् । सडक वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुका लागि असुरक्षित बनेको छ ।
सडक स्तरोन्नतिसँगै कल्भर्टमा माटो थुपारेपछि वन्यजन्तुलाई सडक पार गर्न जोखिम भएको खनालको भनाइ छ । सडक निर्माण कम्पनीलाई कल्भर्टलाई वन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा सुनुवाइ नभएको खनालको गुनासो छ ।