लाखौँको ड्रायर मेशिन कवाडीमा, झापाका किसान सडकमै मकै सुकाउन बाध्य

लाखौँ अनुदानको दुईवटा ड्रायर मेशिन कवाडीमा, झापाका किसान बाटोमा मकै सुकाउँदै
कृषि ज्ञान केन्द्र भद्रपुरबाट अनुदानमा प्राप्त लाखौँको दुईवटा ड्रायर मेशिन कवाडीमा परिणत हुँदा झापा गाउँपालिकाका किसानहरू हुलाकी बाटोमा मकै सुकाउन बाध्य छन् ।
कृषि ज्ञान केन्द्र र झापा गाउँपालिकाको अनुदान सहयोग तथा आफ्नो लगानी गरी करिब ३५लाख रुपैयाँ खेर फाल्दै झापा गाउँपालिकाका दुईवटा सहकारी संस्थाहरूले मकै सुकाउने मेशिन कवाडीमा परिणत गरेका हुन् ।
आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र भद्रपुरबाट ५० प्रतिशत अनुदानमा कुमरखोद साना किसान कृषि सहकारी र मारसल कृषि सहकारी संस्थाले दुईवटा ड्रायर मेशिन प्राप्त गरेका थिए । उक्त ड्रायर मेशिनको मूल्य प्रतिमेशिन १७ लाख ६५ हजार रुपैयाँ परेको थियो । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै सहकारीलाई २ लाखका दरले सहयोग गरेको थियो । त्यसैगरी एस.एन जेडी संस्था बिर्तामोडले आर्थिक अवस्था कमजोर भएको मारसल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो ।
कृषि ज्ञान केन्द्रले अनुदान सहयोगमा झापा गाउँपालिकाका ती दुई सहकारी संस्थालाई दिएको दुईवटा ड्रायर मेशिन दक्ष प्राविधिक नहुँदा चार वर्षदेखि बिग्रिएर थन्किएको हो । किसानले लगाएको धान , मकै र गहुँ सुकाउनको लागि ड्रायर मेशिन खरिद गरेर ल्याइएकोमा दक्ष जनशक्तिको अभावमा चलाउन नसकेर थन्किएको हो । दुवै संस्थाले किसानहरूलाई सहयोग गर्ने उद्देश्यले ड्रायर मेसिन खरिद गरेका थिए । लाखौँको ड्रायर मेशिनबाट एक वर्ष पनि किसानहरूले राम्ररी आम्दानी लिन सकेनन् ।
दक्ष प्राविधिक नहुँदा शिकारुको भरमा मेशिन चलाउँदा बारम्बार बिग्रिएपछि मेशिन चलाउन नसकिएको मारसल कृषि सहकारी संस्थाकी राप्ती राजवंशीले बताइन् । उनी भन्छिन् – ‘मेशिनको पार्टस् बिग्रियो भने नेपालमै पाइँदैन, किन्नलाई भारतको हैदरावाद शहर जानुपर्छ । मेशिन बिग्रिएर बोलाउँदा पनि सप्लायर्स वि.आई. कम माइक्रो सिस्टम कैलाली टिकापुरका इन्जिनियर पंकज विष्टले प्राविधिक नै पठाएनन् ।’
त्यसैगरी साना किसान सहकारी संस्थाका रूपक राजवंशी भन्छन् ‘यो ड्रायर मेशिन अनसक्सेसफुल मेशिन हो , एउटा पार्टस् बनायो अर्को दिन अर्को पार्टस् बिग्रिहाल्ने । बनाउनका लागि कैलालीबाट प्राविधिक बोलाउँदा खर्च पनि धेरै लाग्ने भएकोले ड्रायर मेशिन चलाउन सकिएन ।’ प्रतिघण्टा ८७.५ मन मकै र धान, प्रतिघण्टा ६२.५ मन गहुँ सुकाउने क्षमता रहेको ड्रायर मेशिन कवाडीमा परिणत हुँदा स्थानीय किसानहरू हुलाकी बाटोमा मकै सुकाउन बाध्य भएका हुन् । मकै जोन घोषित झापा गाउँपालिकाका किसानहरूले ठुलो क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *