झापा, साउन ४ । झापाको बाह्रदशी गाउँपालिकामा भारतीय मोटरसाइकलको ठक्करबाट कचनकवलका एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । तर, पीडित परिवारलाई अहिलेसम्म कुनै राहत वा क्षतिपूर्ति उपलब्ध भएको छैन ।
गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी–१ खयरबारीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको भारतीय नम्बर प्लेट (BR 37 AZ 6440) को मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको स्कुटर (प्र. १–०१–०१६ प ९२७०) लाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कचनकवल–३ डाकुपारा निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी, उनका ७ वर्षीय नाति आयुष राजवंशी र २७ वर्षीया बुहारी उर्मिला राजवंशीको मृत्यु भयो । स्कुटर चालक श्रीप्रसाद र मोटरसाइकल चालक भारतको किशनगंज जिल्ला, डिघलबैंक थाना अन्तर्गत करलाबारी–१४ का २७ वर्षीय सुरज टुडूको घटनास्थलमै मृत्यु भएको थियो । उर्मिला र नाति आयुषको उपचारका क्रममा बीएण्डसी अस्पतालमा ज्यान गएको हो ।
उपचार खर्चमा मात्र ७ लाख रुपैयाँ खर्च भएको र तीमध्ये २ लाख छुट पाएपछि बाँकी ५ लाख रुपैयाँ तिरेर शव ल्याइएको पीडितका आफन्त सुरेश राजवंशीले जानकारी दिए ।
दुर्घटनाका दोषी भारतीय मोटरसाइकल चालकको पनि मृत्यु भएकोले क्षतिपूर्ति दाबी गर्ने आधार नरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए । “अपराधीको मृत्युसँगै कानुनी रूपमा मुद्दा अघि बढाउन गाह्रो हुन्छ,” उनले भने ।
यता कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले पीडित परिवारलाई केही राहत उपलब्ध गराउन पहल भइरहेको जानकारी दिएका छन् । “कानुनी क्षतिपूर्तिको बाटो जटिल भए पनि पालिकाबाट राहतको व्यवस्था गर्न हामी प्रयासरत छौं,” उपाध्यक्ष भट्टराईले भने ।