वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको चरम अभाव भएपछि नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ। मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले पानीको चर्को अभाव झेलेका बस्तीहरूमा दिनको तीन पटक खानेपानी वितरण गर्दै आएको छ।
श्रीनङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औषतमा १ लाख लिटर खानेपानी वितरण भइरहेको जानकारी दिए। उनले भने, “पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीन पटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ। महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ।”
वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकताअनुसार ट्याङ्करबाट पानी वितरण भइरहेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्याङ्करबाट वितरण गरिएको पानीले धेरै हदसम्म राहत महसुस भएको बताए। “वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै दिनरात नभनिकन फोन गर्नुहुन्छ। हामीले आवश्यकताको आधारमा ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ,” उनले भने।
गत साउन १ गतेदेखि नै पर्सामा खानेपानी ट्याङ्करमार्फत वितरण हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर पानी वितरण गर्दै आइरहेको छ।
नेपाली सेनाले वीरगञ्ज महानगरका विभिन्न स्थानहरू जस्तै: छपकैया, गायत्री टोल, शिक्षा कार्यालय पछाडि, वडा नं. ११ राधेमाई, श्रीपुर, वडा नं. १४ बहुअरीचोक, वडा नं. १५ भिष्वा, राधेराधे कलोनी, वडा नं. २४ रामगढवा, वडा नं. २६ सुगौली बिर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे गरी तीन पटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेको छ।
त्यस्तै, पर्साको बहुदरमाई नगरपालिका–१, विश्रामपुर, दक्षिणटोलमा पनि दिनको दुई पटक बिहान १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण भइरहेको छ। पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्याङ्करबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए।