अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागमती प्रदेशका केन्द्रीय सदस्य र जिल्लास्तरीय पदाधिकारीहरूले अध्यक्ष डा. सुजन कडारियाको राजीनामालाई सदर गरी तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् ।
बागमती प्रदेशका सात जिल्ला र भरतपुर महानगरका प्रतिनिधिहरूले संयुक्त रूपमा ध्यानाकर्षण पत्र जारी गर्दै डा. कडारियाको पछिल्लो आचरण, व्यवहार र राजीनामालाई ‘नाटक’ भन्दै संगठनलाई गम्भीर संकटमा पुर्याएको आरोप लगाएका छन् ।
‘संकटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने नेतृत्व उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने र कार्यकर्तालाई निराश पार्ने प्रवृत्ति अनेरास्ववियुले स्वीकार गर्न सक्दैन,’ पत्रमा उल्लेख छ ।
सदस्यहरूले अध्यक्षले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरिसकेकाले अब तत्काल बैठक बोलाएर नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पनु पर्ने माग गरेका छन् । ‘महाधिवेशनमार्फत कार्यकर्ताले दिएको मत र विश्वासलाई अपमान गर्ने व्यक्तिलाई स्वीकार्न सकिँदैन,’ उनीहरूले स्पष्ट पारेका छन् ।
ध्यानाकर्षण पत्रमा विद्यार्थी आन्दोलन बलिदान र समर्पणको आधारमा बनेको उल्लेख गर्दै व्यक्तिगत महत्वाकांक्षा, नाटक वा स्वार्थका आधारमा संगठन कब्जा गर्ने प्रयासलाई अस्वीकार्य भनिएको छ ।
यसमा केन्द्रीय सदस्य/इन्चार्ज रविन तामाङ, सुदिन अधिकारी, पुष्कर भट्टराई, रिया मगर, श्याम लामा, प्रशान्त लुङ्गेली, प्रशान्त सुवेदीलगायतका हस्ताक्षर छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, दोलखा, चितवनका जिल्ला अध्यक्ष तथा संयोजकहरूले समेत सहमति जनाएका छन् ।
