झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको बताउँदै रक्तदानका लागि सर्वसाधारण र संघ–संस्थालाई अपिल गरेको छ।
रेडक्रसका अनुसार झापामा रहेका छ वटा रक्तसञ्चार केन्द्रमा हाल करिब २०० पिन्ट मात्र रगत मौज्दात छ। दैनिक रुपमा अस्पतालहरूमा मिर्गौला डायलाइसिस, शल्यक्रिया र आकस्मिक उपचारका लागि करिब १०० पिन्ट रगत आवश्यक पर्ने भएकाले दुई दिन पुग्ने मात्र मौज्दात रहेको बताइएको छ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार लगातार भएका चाडपर्व र असोज १८ देखि २० गतेसम्मको वर्षा तथा विपद् घटनाका कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव देखिएको हो।
“रगत माग्ने मात्र होइन, सबैले आफ्नो तर्फबाट रक्तदान गरेर सहयोग गर्नुपर्छ,” अध्यक्ष ढकालले भन्नुभयो, “बिरामीलाई रगत चाहिँदा आफैंसहित दुई–तीन जना रक्तदाता लिएर जाँदा अझ प्रभावकारी हुन्छ।”
उहाँका अनुसार रेडक्रससँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर उपलब्ध छ, र रगत चाहिने बिरामीका आफन्तले सिधै सम्पर्क गरेर पनि सहयोग पाउन सक्ने व्यवस्था गरिएको छ।
ढकालले ‘जेनजी’ प्रदर्शनका क्रममा झापाबाट करिब १,५०० पिन्ट रगत काठमाडौँ पठाइएको जानकारी पनि दिनुभयो।


















