कोशी प्रदेश सभाका सशक्त सांसदहरू केन्द्रीय सदस्यको दौडमा
झापा । कोशी प्रदेश सभामा सशक्त भूमिका निर्वाह गर्दै आएका दुईजना प्रदेश सभा सदस्यले नेकपा एमालेको एघारौं महाधिवेशनमा पहिलोपटक केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारी गरेका छन्। कोशी प्रदेश सभामा जनजीविका र सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आएका संखुवासभाका विदुर सुब्बा र झापाका चिन्तन पाठकले यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
विद्यार्थी राजनीतिबाट माथि उठेका चिन्तन पाठक झापा जिल्लाको अध्यक्ष र कोशी प्रदेश कमिटीको सचिव भइसकेका व्यक्ति हुन्। पाठकले आफू विद्यार्थी राजनीतिदेखि अहिलेसम्म अविचलित रुपमा आन्दोलनमा होमिएको बताउँदै यसपटक आफूले केन्द्रीय सदस्यमा इच्छा व्यक्त गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसपटकको जटिल परिस्थितिमा केपी ओलीलाई पुनस्अध्यक्ष बनाएर आफू केन्द्रीय सदस्य बन्ने इच्छा छ।’ पूर्वी झापा जिल्लामा लोकप्रिय नेताको रूपमा चर्चा कमाएका पाठक झापा जिल्लाको अध्यक्ष र प्रदेश कमिटीको सचिव हुँदा पार्टीलाई जनतामाझ स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नेताका रुपमा समेत चिनिनुहुन्छ।
त्यस्तै संखुवासभाको मादी नगरपालिकाको संस्थापक मेयर हुँदै अहिले कोशी प्रदेश सभामा नेकपा एमालेको सचेतकको भूमिकामा रहनुभएका बिदुर सुब्बाले पनि पहिलो पल्ट आफू केन्द्रीय सदस्यको तयारीमा रहेको बताउनुभयो। महेन्द्र क्याम्पस धरानको स्ववियु सभापति हुँदै काठमाडौँमा लामो समयसम्म विद्यार्थीको राजनीति गरेका सुब्बा लोकप्रिय युवा नेता हुन्। सुब्बाले आफू एमालेको केन्द्रीय सदस्य भएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने र एमालेलाई जनताप्रति उत्तरदायी बनाउन थप प्रतिबद्ध भएर लाग्ने बताउनुभयो।
यस्तै झापाबाट कोशी प्रदेश सभामा निर्वाचित होम थापाले पनि केन्द्रीय सदस्यमा तयारी गर्नुभएको छ। झापामा लोकप्रिय नेताको रुपमा परिचित थापा भूमिगत कालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ। झापामा विकास प्रेमी नेताको रूपमा परिचित थापाले कोशी प्रदेश सभामा आफ्नो भूमिकालाई सशक्त रुपमा निर्वाह गर्दै आउनुभएको छ। थापाले आफू केन्द्रीय सदस्य बनेर नेकपा एमालेलाई अझ बलियो र जनता माझमा स्थापित पार्टी बनाउने बताउनुभयो।



















