काठमाडौँ । पौष शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशी। यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तानप्राप्ति हुने सन्दर्भ एकादशी माहत्म्यमा आउँछ।
एकादशी भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। वैदिक सनातन धर्मावलम्बीले अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिलाई बढी महत्त्व दिने गरेको पाइन्छ। वैष्णव सम्प्रदायको प्रभाव बढ्दै गएपछि सनातन समाजमा एकादशीको पनि महत्त्व बढेको बुझिन्छ।
एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (केराउ, चना, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।
एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिकमास परेको वर्ष दुईवटा थपिन्छन्। सामान्यतया मार्गशीर्ष (मंसिर) कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम एकादशी मानिन्छ।
विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।



















