- नवीन उप्रेती
झापा । झापाको कचनकवल गाउँपालिका कुनै समय सखरखण्ड उत्पादनको प्रमुख केन्द्र मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा जंगली हात्तीको निरन्तर आतंक र सरकारी उपेक्षाका कारण यहाँका किसानहरू यो खेतीबाट विमुख हुन थालेका छन्। हात्तीले बाली नष्ट गरिदिने डरले किसानहरूले आफ्नो खेतीको क्षेत्रफल उल्लेख्य रूपमा घटाउन बाध्य भएका छन्, जसका कारण ‘सखरखण्डको भण्डार’ भनेर चिनिने यो क्षेत्रको परिचय नै संकटमा परेको छ।
विगत एक दशकदेखि व्यावसायिक सखरखण्ड खेती गर्दै आएका कचनकवल–१ घेराबारीका कृषक मोहम्मद आतिम यसको ज्वलन्त उदाहरण हुन्। विगतमा दुई बिघासम्म खेती गर्ने आतिमले यस वर्ष हात्तीकै त्रासले गर्दा मात्र १० कट्ठामा खेती सीमित गरेका छन्। हात्तीले जमिन मुनि फलेको सखरखण्ड खोस्रेर खाने र बोट बिरुवा कुल्चिएर सखाप पार्ने गरेको उनले बताए। गत वर्ष मात्रै उनको १४ कट्ठामा लगाइएको बाली हात्तीले नष्ट गरिदिएको थियो। सामान्यतया राति १० बजेदेखि बिहान ४ बजेसम्म खेतमा पस्ने हात्तीलाई रोक्न बिजुलीका बत्ती र तारबार लगाए पनि प्रभावकारी हुन सकेको छैन।

यस्तै पीडा सोही क्षेत्रका अर्का कृषक घनेश राजवंशीको पनि छ। हात्तीको जोखिमकै कारण उनले पनि अघिल्लो वर्षको तुलनामा खेती घटाएका छन्। कचनकवल क्षेत्रमा भदौको महिनामा रोपिने सखरखण्ड मंसिरदेखि माघसम्म खन्ने गरिन्छ। ठ्याक्कै उत्पादन लिने समयमा हात्तीको बथान खेतमा पसेर क्षति पुर्याउने भएपछि लगानी समेत नउठ्ने अवस्था आएको कृषकहरूको गुनासो छ। १० कट्ठा खेती गर्न करिब २० हजार रुपैयाँ खर्च हुने र राम्रो उत्पादन भएमा प्रतिकट्ठा ५ मनसम्म फल्ने भए पनि जंगली जनावरको अवरोध मुख्य चुनौती बनेको छ।
बजारको अवस्था हेर्दा हाल खेतबाटै सखरखण्ड प्रतिकिलो ४५ देखि ४८ रुपैयाँमा बिक्री भइरहेको छ। यहाँ उत्पादित सखरखण्ड झापाको बिर्तामोड र सुनसरीको इनरुवासम्म पुग्ने गरेको छ। खेती घटेका कारण यतिबेला बजारमा सखरखण्डको मूल्य भने केही बढेको पाइएको छ। परम्परागत खाजाको रूपमा प्रयोग हुने सखरखण्डको व्यावसायिक महत्त्व बढ्दै गए पनि सरकारबाट कुनै किसिमको अनुदान वा प्राविधिक सहयोग नपाएकोमा किसानहरू रुष्ट छन्।

कचनकवलका किसानहरूले हात्ती नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न र सखरखण्ड खेतीलाई संरक्षण गर्न सरकारसँग माग गरेका छन्।



















