बनियानी। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीका साथै राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ (डिपिआरपी) अन्तर्गत कचनकवलमा एक दिवसीय हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य उपचार शिविर आज सम्पन्न भएको छ।

कचनकवल गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित उक्त शिविरमा ओमसाई पाथिभरा हस्पिटल, भद्रपुरका डा. प्रविण तिम्सिना, प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका डा. दिपेन राजवंशी, जनस्वास्थ्य निरीक्षक नवीन मिश्र र अ.हे.व. नवाज अहमद नुरी लगायतको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष एवं स्थानीय समन्वय समितिका संयोजक नवराज भट्टराई, करूणा फाउण्डेशन नेपालकी पालिका संयोजक अञ्जना लामिछाने र कचनकवल अपाङ्गता संस्थाका अध्यक्ष डम्बर बहादुर रिमाल लगायतका जनप्रतिनिधि एवं सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा समुदायमा आधारित पुनःस्थापना सहजकर्ता (सिबिआरएफ) हरू मार्फत घरदैलो गरी पहिचान गरिएका कूल ३१ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा गत वर्ष छुटेका र यस वर्ष नयाँ परिचय-पत्र प्राप्त गरेका व्यक्तिहरूलाई प्राथमिकता दिँदै ८ जनाको एक्सरे र ९ जनालाई थप फलोअपका लागि सिफारिस गरिनुका साथै आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो। रातो परिचय-पत्र वाहकहरूलाई स्वास्थ्य बिमा मार्फत र अन्यलाई कार्यक्रमकै बजेटबाट निःशुल्क उपचार सेवा प्रदान गरिएको यस कार्यक्रमले आगामी दिनमा मानसिक अपाङ्गता भएका व्यक्तिहरूलाई समेत समेट्दै स्वास्थ्य उपचारको दायरा फराकिलो बनाउने लक्ष्य राखेको छ।




















