काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।’
यता उनकी पत्नी आरजु राणा देउवा भने टिकटबाट बन्चित भएकी छन् । उनको क्षेत्र कैलाली–५ मा कांग्रेसले नरनारायाण शाहलाई टिकट दिएको छ ।
कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सोमबार रातिसम्म ८२ वटा उम्मेदवारहरु टुंग्याएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।



















