झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा आफ्नो उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएको छ। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले शुभ साइतमा मनोनयन दर्ता सम्पन्न भएको जानकारी दिनुभयो।
अध्यक्ष लिङ्देनले यस पटकको निर्वाचनमा मतदाताले आफूलाई पहिलेभन्दा अझ सहज रूपमा विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आफू र आफ्नो पार्टी विगतका दिनहरूमा विभिन्न अग्नि परीक्षाहरूमा जनताको नजरमा खरो साबित भएको र राष्ट्रका लागि आवश्यक शक्तिको रूपमा स्थापित भइसकेको दाबी गर्नुभयो।
”यहाँका मतदाताले हामीलाई केवल एक थान सांसदको रूपमा मात्र नभई, समग्र देशकै एउटा वैचारिक धारको नेतृत्व गर्ने अवसर पुनः प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,” लिङ्देनले भन्नुभयो।
उहाँले आफूलाई यस क्षेत्रका आम मतदाताले ‘साझा उम्मेदवार’ को रूपमा लिएको बताउँदै विगत भन्दा यस पटकको जित अझ सहज हुने उल्लेख गर्नुभयो।



















