काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलबमा वृद्धि गरिएको छ। जसमा एसएलसी अनुत्तीर्ण भएका (फेल) शिक्षकहरूको समेत मासिक तलब ३४ हजार रुपैयाँभन्दा बढी कायम गरिएको छ ।
नयाँ तलबमानअनुसार प्राथमिक तहमा कार्यरत र दुई विषयभन्दा बढीमा एसएलसी अनुत्तीर्ण भएका शिक्षकहरूको मासिक तलब ३४ हजार ४ सय २६ रुपैयाँ पुगेको छ। त्यस्तै, दुई विषयसम्म एसएलसी अनुत्तीर्ण भएका शिक्षकहरूले मासिक ३६ हजार ४ सय ४५ रुपैयाँ तलब पाउनेछन् । प्राथमिक तहकै एसएलसी उत्तीर्ण शिक्षकहरूतर्फ भने तृतीय श्रेणीको ४३ हजार ४ सय २८, द्वितीय श्रेणीको ४८ हजार ३ सय ८७ र प्रथम श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ तलब कायम गरिएको छ।
निम्न माध्यमिक (निमावि) तहका शिक्षकहरूको तलब विवरणअनुसार तृतीय श्रेणीका शिक्षकले मासिक ४८ हजार ३ सय ८७ रुपैयाँ बुझ्नेछन्। यसैगरी, निमावि द्वितीय श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ र प्रथम श्रेणीको ६३ हजार ९ सय ४ रुपैयाँ तलब तोकिएको छ।
माध्यमिक तहका शिक्षकहरूको तलब सबैभन्दा बढी रहेको छ। नयाँ दररेटअनुसार माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८ सय ७४ रुपैयाँ कायम भएको छ। त्यस्तै, माध्यमिक द्वितीय श्रेणीका शिक्षकले ६७ हजार ९ सय ७ रुपैयाँ र माध्यमिक प्रथम श्रेणीका वरिष्ठ शिक्षकले मासिक ७४ हजार ९ सय ५८ रुपैयाँ तलब पाउनेछन्।

सरकारले यो नयाँ तलबमान २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको हो। यसका साथै, शिक्षकहरूले पनि अन्य निजामती कर्मचारी सरह ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। सरकारको नीतिका कारण अझैसम्म एसएससी फेल शिक्षकले समेत प्रावि तहमा पठाउँदै आएको पाइएको छ ।




















