मेलबर्न, अस्ट्रेलिया । नेपाली युवाहरूको सक्रियतामा सात वर्षअघि स्थापना भएको मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट (MNC West) ले आफ्नो क्रिकेट टोली घोषणा गरेको छ। कम्युनिटीले विशेष कार्यक्रमको आयोजना गर्दै क्रिकेट टोलीका खेलाडी तथा टोलीको नयाँ जर्सी सार्वजनिक गरेको हो।
कार्यक्रममा मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट क्रिकेट टिम का खेलाडीहरूले जर्सी सार्वजनिक गरेका थिए। टोलीमा आकाश सुनार, अर्जुन पौडेल, बासु भुसाल, भूमिराज रिजाल, विक्रान्त कटवाल, विपिन भण्डारी, मञ्जिल पाठक, निर्मल राणा, प्रज्वल भट्टराई, प्रकाश भट्टराई, पुष्पराज कँडेल, रोशन खड्का, सन्देश श्रेष्ठ, सुवेश पन्त, सुरज अधिकारी र उत्सव सुवेदी रहेका छन्।

कार्यक्रमको सुरुवात नेपाली तथा अस्ट्रेलियन राष्ट्रिय धुन बजाएर गरिएको थियो। त्यसपछि गत भदौ १० गते नेपालमा आएको बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
अस्ट्रेलियाको मेलबर्न वेस्ट क्षेत्रका सांसद त्रुङ्ग लुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मेलबर्न नेप्लिज कम्युनिटी वेस्टका अध्यक्ष विक्रम शर्मा पगेनीले विदेशमा रहेर नेपाली समुदायको क्रिकेट क्लब स्थापना गर्न पाउँदा गर्व लागेको बताए। उनले आगामी दिनमा एमएनसी वेस्ट क्रिकेट क्लबले क्रिकेट क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गर्दै खेलाडी तथा क्लबलाई शुभकामना दिए।
कार्यक्रममा भिडियो कलमार्फत नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले पनि शुभकामना व्यक्त गरे। विदेशमा रहेर नेपाली युवाहरूले क्रिकेटप्रति रुचि देखाउँदै क्लब स्थापना गरेको खबरले आफू तथा नेपाली राष्ट्रिय क्रिकेट टोली खुसी भएको बताउँदै ऐरीले एमएनसी वेस्ट क्रिकेट क्लबको सफल र उज्ज्वल भविष्यको कामना गरे।
कार्यक्रममा मेलबर्नमा बसोबास गर्दै आएका नेपाली बालबालिकाहरूले नेपाली गीत–संगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। बालबालिकाको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएको थियो।
नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने उद्देश्यसहित स्थापना गरिएको एमएनसी वेस्ट क्रिकेट क्लबले आगामी दिनमा स्थानीय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउँदै नेपाली समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।



















