काठमाण्डौ – नेपाली गाईको नस्ल सुधारका लागि अमेरिकाबाट ल्याइएका अमेरिकी साँढेलाई पोखरा लगिएको छ । शुक्रबार अमेरिकाबाट जहाजमा चढाएर नेपाल ल्याइएका साँढेलाई खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको थियो । खुमलटारबाट यी साँढेलाई पोखरा लगिएको छ ।
पोखरा लगेर पनि यी साँढेलाई क्वारेन्टाइनमै राखिनेछ । विदेशबाट ल्याइएका पशुपन्छीलाई जाँच गर्न तथा उनीहरूमा रहेको रोग नेपालका पशुपन्छीमा नसरोस् भन्नका लागि क्वारेन्टाइनमा राख्ने गरिन्छ । पशु सेवा विभागअन्तर्गतको पशु सेवा महाशाखाका प्रवक्ता तथा वरिष्ठ भेटेनरी अधिकृत डा. मोदनाथ गौतमका अनुसार विदेशबाट ल्याइएका सबै प्रकारका जनावरलाई १४ देखि २१ दिन क्वारेन्टाइनमा राख्ने गरिन्छ ।
‘जुन देशबाट ल्याइएको हो, त्यहाँ पशुमा कस्तो रोग छ, नेपालमा त्यो रोग छ कि छैन भन्ने जाँच गर्न क्वारेन्टाइनमा राख्ने गरिन्छ,’ उनले भने ।
अमेरिकाबाट ल्याइएका पाँचवटा जर्सी र दुईवटा होल्स्टिन साँढेलाई पनि तीन दिन खुमलटारस्थित क्वारेन्टाइनमा राखियो भने पोखरा लगेर पनि केही दिन क्वारेन्टाइनमै राखिनेछ ।
खुमलटार क्वारेन्टाइनबाट पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा आज पठाइएका साँढेलाई पोखरामा पनि क्वारेन्टाइनमा राखिने बताए नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन आयोजनाका अनुगमन तथा मूल्याकांन अधिकृत डा केशव भट्टले । उनले भने, ‘पोखरा पुर्याइसकेपछि यी साँढेका सबै प्रकारको स्वास्थ्य जाँच हुन्छ । त्यतिञ्जेलसम्म यी साँढेलाई अरु जनावरबाट टाढै राख्छौँ ।’
नस्ल सुधारका लागि ल्याइएका यी साँढेको वीर्य किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिए । अमेरिकाबाट ल्याइएको एक साँढेको मूल्य १८ लाख रुपैयाँ परेको साँढे खरिदको जिम्मा पाएको मेट ग्रुपले बताएको छ ।