बनियानी।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा हल्दीबारी गाउँपालिका झापाका सबै गाउँपालिकामध्ये प्रथम स्थानमा परेको छ। हल्दीबारीले ६० अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको हो। गाउँपालिकाहरूमा झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाले समान ५८.९ अंक प्राप्त गर्दै दोस्रो स्थान ओगटेका छन् भने बुद्धशान्ति गाउँपालिकाले ५७.२ अंकसहित तेस्रो स्थान हासिल गरेको छ।
नगरपालिकाहरूको मूल्यांकनमा भद्रपुर नगरपालिका ७१ अंकसहित प्रथम स्थानमा रह्यो। गौरादहले ६१ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने शिवसताक्षी ६०.७ अंकसहित तेस्रो स्थानमा परेको छ। अन्य स्थानीय तहहरूको प्राप्तांक क्रमशः दमक नगरपालिकाले ५४.२, विर्तामोड नगरपालिकाले ५३.४, कनकाई नगरपालिकाले ५२.८, कमल गाउँपालिकाले ५१.३, अर्जुनधारा नगरपालिकाले ४७.९, कचनकवल गाउँपालिकाले ४६.३, मेचीनगर नगरपालिकाले ३९.२ र गौरीगञ्ज गाउँपालिकाले ३३.९ रहेको छ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरिएको हो। आयोगले १९ विभिन्न सूचकका आधारमा मूल्याङ्कन गर्दै आएको छ, जसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, बजेट विनियोजन, राजस्व सङ्कलनलगायतका विषय समेटिएका छन्। मूल्यांकनका आधारमा स्थानीय तहहरूले संघ सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गरिने व्यवस्था छ।