झापा(पालिका सन्देश) । यस आर्थिक वर्षमा झापामा १ सय ८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैरआवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरुले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक वर्षमा मात्रै १ सय ८ जना नेपालीहरुले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताएका छन् ।
यता, यस आर्थिक वर्षमा १८ हजार २२ जनाले वंशजका आधारमा र ६९२ जनाले बैवाहिक अंगिकृतका आधारमा गरी जम्मा १८ हजार ७ सय १४ जनाले नागरिकता लिएको सहायक प्रजिअ नेपालले बताए ।
यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरिकता निकाल्नेको सङ्ख्या झण्डै नयाँ नागरिकता बनाउनेकै हाराहारीमा रहेको पाइएको छ । झापामा गत आवमा मात्रै १४ हजार ८ सय ४३ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । राष्ट्रिय परिचयपत्र लगायातका लागि समेत कतिपय पुराना भएका नागरिकताहरु तथा हराएका नागरिकताहरु पुनः आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरुको सङ्ख्या बढेका कारण पनि यो सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
यसैगरी, झापामा यस आर्थिक वर्षमा मात्रै १ लाख ३५ हजार ३२१ जनालाई सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ भने यस अवधिमा ५१ हजार ३२४ जनाको परिचयपत्रका लागि आवेदन संकलन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राष्ट्रिय परिचयपत्रका लागि अहिले झापाका १५ वटै स्थानीय तहमा अभियान समेत सञ्चालनमा रहेको जिल्ला प्रशासनले जनाएको छ ।
किन धेरै नेपालीहरूले देश छोडिरहेका छन् ?
नेपालमा श्रम र आप्रवासनको अध्ययन गर्दै आएका जीवन बानियाँ नेपालबाट बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिने क्रम तत्काल रोकिने सम्भावना नदेखिएको बताउँछन् । “जुन तरिकाले हाम्रो बजेट बनिरहेको छ । आर्थिक वृद्धि नै ४ अङ्क हाराहारीको मात्रै छ । ऋण र अनुदानमा हाम्रा परियोजना निर्भर छन् त्यस कारण केही समय लाग्छ एक दशकमा पनि गाह्रै होला जस्तो लाग्छ मलाई,” सोसल साइन्स बहाको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका उपनिर्देशक बानियाँ भन्छन् ।
नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ । “हामीसँग जति युवाहरू श्रम बजारमा छन् त्यति रोजगारी हाम्रो श्रम बजारमा नहुनु नै प्रमुख कारण हो,” युवाहरू बिदेसिनुको कारणबारे बानियाँ भन्छन् । उनका अनुसार नेपालमा रोजगारी भए पनि जीविकोपार्जनका लागि पर्याप्त नभएका कारण पनि मानिसहरू विदेशिनेक्रम देखिन्छ ।
“कतिपय ठाउँमा तलब कम हुँदा पनि सामाजिक सुरक्षा राम्रो हुँदा मानिसहरू बिदेसिने क्रम अलि कम हुन्छ । तर हाम्रोमा त्यसको पनि अभाव छ,” उनी भन्छन् । नेपाली समाजले विदेशमा जाने कुरालाई पछिल्लो समय सामाजिक प्रतिष्ठाको विषय पनि बनाएको बानियाँको भनाई छ । “हामीले गरेको अध्ययनहरूमा छिमेकबाट पनि गएको छ, साथी पनि गएको छ त्यसकारण म पनि जानुपर्छ भनेर पनि मानिसहरू विदेश गइरहेको देखिन्छ ।”
नागरिकता त्याग गर्ने प्रक्रिया के छ ?
नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ । जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ । गृह मन्त्रालयका अनुसार अधिकांश नेपालीहरूले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता त्यागको प्रक्रिया अघि बढाउने गरेका छन् ।
यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कलप्रति पनि बुझाउनुपर्छ । प्रमुख जिल्ला अधिकारीले नागरिकता त्याग सम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुने नियम छ ।