बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँकाे अवसरमा पत्रकारहरूबीच सद्भाव बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप- २०८३ को आयोजना गर्ने भएको छ ।
शुक्रबार क्लबको कार्यसमितिको बैठकले आगामी असोज २४ र २५ गते बुधबारे स्थित खेल मैदानमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष तीर्थ तिम्सिनाले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा झापामा रहेका पालिकास्तरका प्रेस क्लबहरुको टिम सहभागी रहने छन् ।
प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष नारायण अर्याललाई संयोजक तोकिएको छ । उहाँका अनुसार अघिल्लो संस्करण भन्दा यस संस्करणमा पुरस्कार वृद्धि गरिने छ । पहिलो संस्करणमा प्रथम पुरस्कार नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो । त्यस्तै द्वितिय पुरस्कार १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो भने बुद्धशान्ति वडा नम्बर १ मुख्य प्रायोजक रहेको थियो।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको प्रेस क्लब बुद्धशान्तिका सचिव रोसन भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले नयाँ सदस्यता खुलाउने निर्णय समेत गरेको छ । बैठकमा समितिका सदस्य चन्द्रकान्त वाग्ले, समिक्षा कडरिया, किरण काफ्ले लगायतको उपस्थिति रहेको थियो।



















