Search
Close this search box.
Search
Close this search box.

मेरा बा जहिल्यै भन्नुहुन्छ – राजनीति गर्न पैसा चाहिन्छ, कहाँबाट ल्याउँछस् ?

अबिषेक खतिवडा, घर को जेठो छोरा भएर पनि होला बासँग गफगाफमा प्रायः सधै परिवार, बिहे र भबिषयका बारेमा कुरा हुन्छन्। यदाकदा राजनीतिका गफगाफ पनि हुन्छन् तर बा राजनीतिप्रति निराश निष्कर्ष सुनाउनु हुन्छ। देशका नेतृत्व तहमा हुने नेताहरु सबै भ्रष्ट छन्।’
‘यो देश बन्दैन।’


मलाई थाहा छ, बुबा ले हाल सम्म जटिल मुद्धालाई सामान्यीकरण गर्नुहुन्छ तर बाको यो बिषयमा निराशाको गहिराइ बिना कारण उत्पन्न भएको कदापी हुँदै होइन। राजनीतिप्रतिको मेरो रुचिले बा लाई झनै निराश बनाएको देख्छु ।मेरो युवा जोस जागर र बेरोजगारी स्थिति समेत देखेका मेरो बाले मलाई सधै राजनीति गर्नु ठिक होइन भन्नू हुन्छ । ’तैले जीवनमा केही नगर्ने भइस्, झन् राजनीति त परको कुरा। राजनीति गर्न पैसा चाहिन्छ। कहाँबाट ल्याउछस् ? अहिलेसम्म कमाको छैनस्। तेरो कमाइ कहिले खान पाउने हो?’ बुबाको यो सधै चिन्ताको बिषय हो । बा मलाइ छिमेकी भाइ हरु लाई देखाउँदै ’फलाना’ का छोराको प्रगति विवरण पेश गर्दै निष्कर्ष सुनाउनुहुन्छ । ’की लोकसेवा पढ्, की विदेश जा, कि बिहे गरेर खेतिपाती गर । जिन्दगी सजिलो छैन हौ केटा ! जीवनमा स्थायित्व चाहिन्छ।’ म हाँसेर टार्छु, अनि खेतिपाती मलाइ गर्नै आउदैन , जान्दिन भन्ने गरेको छु ।
मेरो घरको संवाद प्रतिनिधिमूलक हो। मेरो जवाफ पनि प्राय घरमा प्रतिनिधिमूलक नै हुने गर छ। कहिलेकाहीँ मनमा प्रश्न पनि उठ्छ, गुनासो मेरा बा मात्र गर्नुहुन्छ की अरुका बा पनि गर्छन्?


सामाजिक, सांस्कृतिक तथा व्यवहारिक हिसाबले मेरो तुलनामा बाको योग्यता उच्च छ। तर, आधुनिक शैक्षिक हिसाबले हेर्दा, शैक्षिक प्रमाण पत्रहरुको थाक मसँग धेरै छ। तर पनि बाले गर्ने प्रश्नहरुको जवाफ मैले दिनसकेको छैन। सिरानीमुनि थन्किएका मेरा प्रमाणपत्रले कुनै जवाफ दिने सम्भावनै छैन। जसले मलाई बाको प्रश्नको जवाफ दिन नसक्ने प्रमाणपत्रहरुको थाक भिरायो, उसलाई नै मलाई पढाउने अधिकार कसले दियो?

अधिकांश नेपाली युवाहरु राजनीति गर्न वा विशिष्ट पदमा पुग्न क्षमताभन्दा पनि पहुँच चाहिन्छ भन्ने विश्वास गर्दछन्। खर्च गर्न व्याप्त स्रोत साधन भएका वा धनी परिवारमा जन्मेकाहरुले मात्रै भने जस्तो जीवन जीउन सक्छन्। फलस्वरुप धेरै युवाहरुको चिन्तन जीवनयापनका आधारभुत आवश्यकता कसरी पूरा गर्ने भन्ने सामान्य कुरामै अल्झेको छ।

ती आधारभुत आवश्यकताको करिब करिब लिस्ट नै बनाउन सकिन्छ। चार आनामा बनेको एउटा घर। एउटा साधारणै भएपनि गाडी। यी दुवै आवश्यकता पूरा गर्नसक्ने जागिर। यति भएपछि समाजमा गन्यमान्य उपभोक्तावादको चरम दलदलमा डुबेको नेपाली समाजले निर्माण गरेको सामाजिक हैसियतको मानक हो यो। यो मानक चिन्तनको चिहानमा उभिएको छ।

यति सपनाको निम्ति जीवनभर आधुनिक दासको घिसिपिटी जीवन बाँच्न तयार मान्छेलाई समाज, देश, विकास, सिद्धान्त, क्रान्ति र दर्शनका बारेमा सोच्ने करिब करिब निषेध गरिएको छ। अर्थात्, चिन्तनको बन्ध्याकरण गरेपछि मान्छेले चारआने जग्गामा घर बनाउन सक्छ, गाडी किन्न सक्छ। कसैले थोरै पनि चिन्तन गर्यो, आफ्नो जीवन र वरिपरिको जगतमाथि प्रश्न गर्यो भने बनिबनाउ उत्तर छँदैछ, राजनीति फोहोरी खेल हो।

हाम्रा अविभावकहरु पनि आफ्ना सन्तानले वीपी र पुष्पलालहरुले जस्तै समाजका निम्ति जीवनको जोखिम नमोलुन् भन्ने चाहन्छन्। पढाइ सकेर खुरुखरु जागिर खाउन् भन्ने इच्छा राख्छन्। तर, जागिर खानलाई हामीले के पढ्यौँ? हामीले प्राप्त गरेको शिक्षाको प्रयोजन, न पढाउनेलाई थाहा छ न त पढ्नेलाई। हामीले पढेको शिक्षा एकातिर छ, बजारले माग्ने योग्यता अर्कोतिर।

शैक्षिक योग्ताको गुणस्तर मापन गर्ने र नियमन गर्ने राज्य संरचना पनि प्रभावकारी छैन। उत्पादित कुनै एउटा जनशक्तिको कार्यक्षमता मूल्यांकन गर्न सम्बन्धित क्याम्पस वा विश्वविद्यालयले उ कार्यरत कम्पनि वा कार्यक्षेत्रसँग फिडब्याक लिने चलन त परको कुरा भयो।

आफूले उत्पादन गरेको जनशक्तिले बजारमा दक्षता देखाउन नसक्दा उसका कमजोरी पत्ता लगाएर सुधार गर्दै लग्ने प्रयास न शैक्षिक निकायले गरेका छन् न त राज्यले नै। हाम्रा शैक्षिक निकायहरुलाई कहिलेसम्म बेरोजगार उत्पादनका कारखाना बनाइराख्ने? कति पुस्तालाई यही अनुत्पादक ज्ञानको दलदलमा डुबाइराख्ने?

वर्तमान समयमा शिक्षाको उच्चतम विकासले नै समग्र विकासको आधार तयार पार्न सकिन्छ। भलै शिक्षाले मात्रै सापेक्ष विकास हुन्छ भनेको होइन। मैलिक ज्ञानलाई आत्मसाथ गर्दै आधुनिक विज्ञानसँग जोड्ने शिक्षा आजको आवश्यकता हो। पश्चिमा समाज, संस्कृति र विज्ञानमा प्रतिपादित सिद्धान्त र ज्ञानले मात्र हाम्रो समाजको यथार्थ र आवश्यकतालाई पूर्ण रुपले समेट्न सक्दैन।

हाम्रो मौलिक तथा आदिवासी ज्ञानलाई पछौटेपनको दोष लगाउने शिक्षाले हामीलाई हाम्रै समाज प्रति प्रतिसोध जगाउदै लान्छ। लामो समयको अभ्यासपछि हाम्रो मौलिक ज्ञान सकिन्छ। यो विनाशकारी अभ्यासले शिक्षामा मात्र होइन, समाजका अरु क्षेत्र, कला, संगीत, साहित्य, र संस्कृति, उत्पादनसँग जोडिएका बीउ बिजन पनि कब्जा गर्दै जान्छ।

हामीलाई परजीवी बनाउँदै लग्छ र अन्ततः पूर्ण रुपमा परनिर्भर बनाउँछ। त्यसैले पश्चिमा भूगोलमा उब्जाउ भएको ज्ञानले यहाँका विद्यार्थीलाई पश्चिमतर्फ आकर्षित गर्नु पनि स्वभाविक नै हो। अहिले हामीले भोगिरहेको एउटा ठूलो चुनौती पनि यही नै हो।

अर्को तिर, पढेलेखेका युवाहरु गाउँ फर्किन सबैभन्दा ठूलो बाधक समाज सम्झिन्छन्। ब्याचलर वा डिग्री गरेपछि गाउँ जानु भनेको हराउनु हो भन्ने आम भावनाको विकास भइसकेको छ। हामी दुबई र कतार जान तयार हुन्छौँ तर स्वदेशमा भविष्य छैन भन्ठान्छौँ। हामीमा विकसित यो मनोविज्ञानले, हुर्कदै गरेको अर्को पुस्तालाई कस्तो असर गर्ला?

संसारका विकसित देशहरुको इतिहास र्हेने हो भने ठूला राजनैतिक परिवर्तनपछि समग्र विकासले तीव्र गति लिएको पाइन्छ। भलै ती देशहरुको शासकीय स्वरुप, विकास र प्रजातन्त्रको मोडेल, समाजवाद वा पुँजीवाद जे आचरण भएता पनि त्यस बारेमा छुट्टै बहस गर्न सकिन्छ। तर, त्यस देशका जनताको चाहना अनुरुपको विकास भएको मान्न सकिन्छ।

सांस्कृतिक क्रान्तिपछिको चीनको विकासले आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याउन सफल भएको छ। दोस्रो विश्व युद्ध पश्चात जापानले गरेको प्रगतीले विकासको एसियन मोडेल नै स्थापित गरेको छ। सिङ्गापुर विकासको चर्चा त हाम्रो जिब्रोमै झुण्डिएको छ भने क्यूबाको समाजवादी विकास सर्वत्र उदाहरण बन्दै गएको छ। यी देशहरुको उदाहरण पस्किदै गर्दा यिनै मोडेल नेपालमा फिट हुन्छ भन्ने मेरो तर्क होइन, यसको पनि छुट्टै बहस गर्न सकिन्छ।

नेपालमा २००७ सालदेखि २०६२। ६३ सम्म व्यवस्था परिवर्तनमै खर्च भयो। आमूल परिवर्तनका नारा निकै घन्किए तर व्यवहारमा कतै देखिएन। नेतृत्वमा रहेका धेरैले सामाजिक र राजनैतिक नियति र बेथिती विरुद्धको लडाइको हिसाब देखाए। कतिपय राजनैतिक दोषारोपण र भागबण्डामै अल्झिए।

नौ महिना नपुग्दै अवसान हुने प्रायः सरकारले आफ्नो रक्षा गर्न युवाहरुको भरपूर प्रयोग गर्न भने छाडेनन्। २०७२ सालमा संविधान निर्माणपछि संघीयतामा आधारित बहुमत प्राप्त लोकतान्त्रिक सरकारले देशलाई निकास दिन सक्छ भन्ने विश्वास सबैलाई थियो।

स्थायी सरकारको अभावका कारण नेपाल विकास नभएको भन्ने भाष्य जनता र राजनीतिक पार्टीबीच स्थापित थियो। नेपाली राजनीतिक इतिहासमा अनेक पराजय व्यहोरेका जनताले २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ मत सहितको बलियो सरकारको अवसर दिलाए। तर, यो भाष्य ३ वर्ष नपुग्दै गलत सावित भइसकेको छ। अब पनि हामीले मौलिक रुपमा हाम्रो सोचाइ र व्यवहार परिवर्तन गरेनौँ भने हामीले हाम्रा अभिभावकहरुले भन्दा नराम्रो भविष्य भोग्नु पर्नेछ।

हामीलाई चाहिएको विकास कस्तो हो?
विश्वव्यापी फैलिएको पुँजीवादसँगै हाम्रो समाजमा पनि असमानताले ठूलो पिरामिड बनाइसकेको छ। पुँजीवादी व्यवस्था यस्तो प्रणली हो जसले माथिबाट धन पठाउन तलबाट धन उठाउँदछ। धनको एकाग्रता शक्तिको एकाग्रतासँगै बढ्दै जान्छ। यदि तपाईसँग थोरै धन छ भने, तपाई थोरै धन आकर्षण गर्नुहुन्छ र त्यही ग्राफको शक्ति संचय गर्नुहुन्छ।
यदि तपाईंसँग धेरै छ भने, तपाई अधिक धन र शक्ति आकर्षित गर्नुहुन्छ। यसले हाम्रो राजनीतिलाई ध्वस्त पार्छ। हाम्रो समाज र अर्थव्यवस्थालाई तहसनहस पार्छ। यसले आम मानिसमा क्रुद्ध क्रोध उत्पन्न गर्दछ, र त्यो क्रोधले विकास र सामानिक गतिशीलतालाई अवरुद्ध गर्दछ।
यो असमानता अर्थव्यवस्थाको प्राकृतिक तवरले समाधान हुनेवाला छैन न त अहिलेका हाम्रा विद्धवानहरुले कुनै जादु गर्न सक्छन्। २००६ मा नोबल शान्ति पुरस्कार पाएका मुहम्मद युनुस, बंगलादेशी ग्रामीण बैँकका संस्थापक भन्छन् ‘गरिबी गरिब मानिसद्वारा सिर्जना गरिएको छैन। यो हामीले निर्माण गरेको प्रणालीद्वारा सिर्जना गरिएको हो। गरिब मानिसहरु बोनसाइ रुख जस्तै छन्। तपाई जंगलको सबभन्दा अग्लो रुखबाट उत्तम बीउ लिनुहुन्छ, तर यदि तपाईले यसलाई फुल्नको लागि फूलको गमलामा राख्नुभयो भने, यो केबल एक मिटर अग्लो बढ्छ। बीउमा केही गलत छैन। समस्या भाँडोको आकार हो। समाजले गरिब मानिसहरुलाई अरु जस्तो गरी अग्लो हुने ठाँउ दिँदैन।’

त्यसैले हामीले हाम्रा समस्याहरु समाधान गर्न व्यक्तिगत नाफा केन्द्रित बजारको शक्तिमाथिको हाम्रो निर्विवाद विश्वास त्याग्न आवश्यक छ। वास्तवमा भन्ने हो भने हालसम्म नेपाल विकासको जननी नै भएको छैन। नेपालको विकासका बारेमा प्रष्ट दृष्टिकोण जननायक वीपीमा भेटिन्छ।

अमेरिका वा सिंगापुर जस्तौ बन्ने होडवाजीमा पुँजीवादले निम्ताएका असमानता, मानवअधिकार हनन र पर्यावरण, जस्ता अहिलेका जटिलताहरुको गहिरो समाधान नखोजी विकास लादियो भने त्यसले विनाश मात्र निम्ताउन सक्छ।

उहाँ भन्नुहुन्छ ‘आज हामी देशमा औद्योगीकरणको कुरा गर्छौं। औद्योगीकरण वा सहरीकरण भनेको त्यस्तो केन्द्रीभूत प्रक्रिया हो जसले ग्रामीण जनताको बेवास्ता गरेर सहरको मात्र विकास गर्छ। पढाइ लेखाइका लागि सहरै जानुपर्यो, ओखतीमूलोका लागि सहर, किनमेलाका लागि सहर, मनोरञ्जनका लागि पनि सहर। सारांशमा सम्पूर्ण कुराहरु सहरमा मात्र छन्।

हामीले अहिलेसम्म यस्तो सहरको विकास गर्ने नमुनाहरुलाई लिएर योजनाहरु बनाएका छौँ। जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरुमा विदेशी मोटरगाडीहरु विदेशी कलपूर्जा र विदेशी तेल (इन्धन) ले चल्छन्। केबल उपभोक्ता मात्र स्वदेशी हुन्छन्। ती पनि मुठ्ठीभर।’ त्यसैले विकास भनेको ठूल्ठूला पूर्वाधारको निर्माण, कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धि, अन्धाधुन्द औद्योगीकरण मात्रै होइन।

अमेरिका वा सिंगापुर जस्तौ बन्ने होडवाजीमा पुँजीवादले निम्ताएका असमानता, मानवअधिकार हनन र पर्यावरण, जस्ता अहिलेका जटिलताहरुको गहिरो समाधान नखोजी विकास लादियो भने त्यसले विनाश मात्र निम्ताउन सक्छ। अहिले हामीले पछ्याइरहेको विकास कतै यस्तै त होइन? यस किसिमको विकासले मल्टिनेशनल कम्पनिका चाउचाउ हाम्रा खलेगरासम्म त पुर्याउला तर कुनिउ छेउ थुपारेको धान बोकेर फर्किदैन।

हाम्रा सामाजिक एकता अझ मजबूत बनाउने, मौलिक धर्म, संस्कृति, कला, संगीतको जर्गेना गर्ने, पर्यावरणको रक्षा गर्ने, सम्पन्न र सबै खालका असमानबाट मुक्त समाज, मानिसलाई खुसी, स्वतन्त्र र मुक्त राख्ने जस्ता आत्मगत पक्षहरुमा पनि ध्यान दिने विकासको नेपाल मोडेलको आवश्यकता छ। यो विकास मोडेलले हाम्रो आत्मनिर्णय अधिकार र सामाजिक सत्व (अन्टोलजिकल विइङ) लाई पूर्ण संरक्षण गर्न सक्नुपर्छ। हाम्रा मौलिकतालाई मारेर गरिएको विकासले उल्टो नतिजा मात्र दिलाउछ।

नेपालका धेरै युवाहरु अहिले जटिल समय र परिवेशमा छन्। एकातर्फ विश्वव्यापी महामारी कोरोना र लामो लकडाउनले थुपारिदिएको आर्थिक चुनैती अगणितीय छ। विश्व भूमण्डलीकरण, मल्टी नेशनल कम्पनीको विस्तारसँगै विश्वमा बढेको असमानता, आतंकवादको सामना, मानवजातिको रक्षा, पर्यावरणको संरक्षणजस्ता यावत युगीन समस्याहरुले विश्व ग्रसित छ।

अर्कोतफ, फरक भूगोल, फरक संस्कृति र फरक इतिहासमा विकास भएका सिद्धान्तले हाम्रो समाजको मौलिकतालाई चिन्नै नसक्ने गरी हामीलाई सैद्धान्तिक अन्धतामा दुर्घटित गराएका छन्। हजारौँ वर्षदेखि चिन्तनहिनताको दलदलमा फसेको सामाजिक कारखानाबाट आफ्नो जीवन र बाहिरी जगतलाई चिन्नै नसक्ने रुढीवाद र संकिर्णताको जगजगी चलिरहेको छ। त्यसैको परिणाम स्वरुप चार आनामा दुईतले घर बनाउनका निम्ति हामीले वस्ती नै जलाइरहेका त छैनौँ?
माथि चर्चा गरिएका विषय अहिले देखिएका मूल मुद्धाका केही अंश मात्र हुन्। तर यी यावत समस्याहरुबाट नेपालका धेरै युवाहरु वेखबर छन्। प्रविधिको आधुनिक दास भएर पब्जी र फेसबुकमा जस्ता भुलभुलैयामै अल्झिएका छन् ।

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तीर्थराज तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *