गङ्गाराम गड्तौला
द्यौ: शान्तिरन्तरिक्ष गूँ शान्ति: पृथिवी शान्ति…….. शान्ति सन्देशको युगीन सङ्गीत गुन्जायमान भइरहेको छ । सात्त्विक पहिरनमा सजिएका तागाधारी बटुकहरू रुद्राष्टाध्यायीमा राष्ट्रको भविष्य खोजिरहेका छन् । कौमुदीका सूत्रहरूमा इतिहास नियालिरहेका छन् । अमरकोश र रघुवंशका सूक्तिमय श्लोकहरूभित्र वर्तमान राजनीतिमा विदुरका उदात्त भावनाको फ्युजन खोजिरहेका छन् ।
प्रकृतिको लीलामयी परिदृश्यले मोहित आँखा चियाबारीको दृश्यपान गर्दै अघि बढिरहेका छन् । सानो तर रमणीय बजारको अवलोकनले स्वर्गीय आनन्दको पराकाष्ठा लिन पुग्छन् ।
पूर्व-पश्चिम मोहोडामा अवस्थित बजारको बिच भागलाई चिर्दै उत्तर लाग्न खोज्दा बायाँ हात बजारलाई बाइबाई गर्न उचालिन्छ । तर अडिन्छ टक्क । मन अनुभूत गर्छ – थाहै नपाई अमरावती अवतरण गरिएछ । हजुर यो वर्णन हो कालिका संस्कृत विद्यापीठ, कालीस्थान, झापाको ।
प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट ७ किमि उत्तरपूर्वमा अवस्थित यस ठाउँको वर्णन कलमले होइन, आँखाले गर्नुपर्छ । पुराण, श्रुति स्मृतिमा वर्णित कुनै नन्दन वनभन्दा कम छैन यो स्थान ।
आधुनिक निर्माण सामग्रीबाट निर्मित मन्दिर तथा भवनहरूमा देखिने प्राचीनताले सबैमा आस्तिकताको आभास छरिदिन्छन् र गोडा बिस्तारै मोडिन्छन् विद्यापीठको परिसरतिर । त्यसपछि परम आनन्द ।
झन्डै १६ कट्ठा क्षेत्रफलमा फैलिएको विद्यापीठको प्राङ्गणमा सुशोभित अक्षय वृक्षलेआत्मिक सुख मात्र दिँदैन, भौतिक देहलाई समेत तरङ्गित बनाउँछ ।
“यो पावन भूमि चित्ताकर्षक छ” गुरु रघुनाथ रिजाल सुनाउनुहुन्छ – “यो शक्तिपीठ धार्मिक सहिष्णुताको नमुना हो ।” संवादको सन्दर्भमा वेदाध्यायी उपाध्यायसँग जिज्ञासा राखियो कालिस्थानको ऐतिहासिक पक्षमाथि “सत्ययुगमा महिषासुर नामक दैत्यको अत्याचार बढेपछि देवताहरूले हिमवत् खण्डका कञ्चनजङ्घा पर्वत फेदीमा गई जगदम्बाको स्तुति गर्न थाले ।
माता प्रसन्न भई दैत्यवध गर्न कञ्चनजङ्घाबाट चालेको दोस्रो पाइला राखेको ठाउँ नै कालीस्थान भएको जनश्रुति छ ।” अक्षय वृक्षमुनि परापूर्व कालदेखि नै माताको स्थान रहे पनि बसोबास नभएका कारण पूजाआराधना हुन नसकेको गुरुको तर्क छ ।
“विसं २००५ देखि यदाकदा पूजाआजा हुन थालेको हो” उहाँले थप्नुभयो, “अनारमनी बिर्तावालले २०१४ सालमा जङ्गल फडानी गरी बस्ती बसालेपछि मन्दिर संरक्षण भएको हो ।”
त्यसो त राजा महेन्द्रले पनि २०१४ सालमै आसाममा रहेका १८ घर-परिवारलाई नेपाल फर्काई यही स्थानमा पुनर्वास गराएका थिए ।
“धार्मिक इतिहासवेत्ता योगी नरहरिनाथले २०३३ सालमा बृहत हिन्दु सम्मेलन गरी कालिस्थानलाई शक्तिपीठ घोषणा गरेपछि यो ठाउँको महत्त्व बढेको हो ।” गुरु रघुनाथ भन्नुहुन्छ ।
स्थानीय समाजसेवी दलमान तामाङ (चैनपुरे बा) ले ११ कट्ठा जमिन दान गरेपछि भने सामाजिक सेवाका हातहरू थपिए । गुरु भन्नुहुन्छ – “मन्दिरमा पूजाआजा मात्र होइन, संस्कृत भाषा तथा साहित्यको समुत्थान गरी श्रुति परम्परा जीवन्त राख्न २०६३ सालमा ‘कालिका संस्कृत विद्यापीठ’ नामको गुरुकूल अनुमति लिई पठनपाठन आरम्भ गरियो ।”
पाठशाला स्थापना गर्ने ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोखरेलको योगदान पनि कम महत्त्वको छैन । गुरु रघुनाथ भन्नुहुन्छ – “गुरु लक्ष्मीप्रसादको एकल प्रयास उदाहरणीय छ । पेसाले उहाँ पण्डित हुनुहुन्छ । आफूले कर्मकाण्ड, पूजाआजा गराउँदा भक्तजनले देवतालाई चढाएको भेटी सङ्कलन गरी अक्षय कोष स्थापना गर्नुभएको छ ।” यही अक्षय कोष नै पाठशाला सञ्चालनको प्रमुख स्रोत बनेको गुरुको भनाइ छ ।
कति विद्यार्थी छन् ?
“अहिले यहाँ ५५ जनाको कोटा छ । सधैँ कोटा पुरा हुन्छ ।”शुल्क लाग्छ ?
“अँहँ, कतिपय पाठशालामा शुल्क लिने गरेको सुनिन्छ । तर हामीले पूर्ण नि:शुल्क खाना, आवास र पठनपाठनको व्यवस्था गरेका छौं ।”
संवादकै बिचमा केही बटुकहरू पाठ बुझाउन आउँछन् । गुरुका अगाडि पलेंटी कसेर सारस्वर सहित वेदका ऋचा उच्चारण गर्छन् ।
“कन्ठै रहेछ ?”
“वेद श्रुतिमा परम्परित ग्रन्थ हो । गुरुबाट सुनेर सम्झिनु र जस्ताको तस्तै अरूलाई सुनाउनु हाम्रो परम्परा हो ।” गुरुले स्पष्ट पार्नुभयो । हामी निस्कँदा अझै वेद गुन्जिरहेको थियो : द्यौ:शान्तिरन्तरिक्ष गूँ शान्ति ।