विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ।
मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत संचालन गरेका परियोजनाहरूमा आभार व्यक्त गरे।
उनले विशेषगरी मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूलको उत्पादन तथा बजारीकरण र व्यवस्थापनमा थप सहयोगको अपेक्षा समेत राखेका छन्।
‘कोशी प्रदेशको कृषि, जलवायु र विपद् व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्न सके ठूला उपलब्धि हासिल गर्न सकिन्छ।’ मुख्यमन्त्री कार्कीले भने।
साथै जलवायु परिवर्तनले पारेको असरप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै हिमाल, पहाड र तराई क्षेत्रले भरिएको कोशी प्रदेश जैविक विविधतायुक्त प्राकृतिक स्रोत–साधनले भरिपूर्ण रहेको जानकारी गिराएको मुख्यमन्त्रीका प्रेस सल्लाकार विक्रम लुईटेलले जनाए।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि सिमिजुले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउँदै कोशी प्रदेशमा सम्पर्क कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए।
उनले जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रको वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा कार्यरत रहेको र आगामी दिनमा थप समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
भेटवार्तामा कृषि तथा वातावरणीय क्षेत्रमा संयुक्त कार्यक्रम, नीति तथा कार्यान्वयन सुदृढीकरणमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।