झापा । शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।
शुक्रबार राति ९ बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापामा २९९ मिलिमिटरसम्म वर्षा मापन भएको छ । झापाकै केचनामा २२८, चन्द्रगढीमा २९८, बिर्तामोडमा २५३, गौरादहमा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ ।
अविरल वर्षाका कारण दर्जनौं नदीमा जल सतह जोखिमपूर्ण अवस्थामा पुगेको छ । पानीले जल सतह सतर्कताको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।
इलाममा पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु बाटामै अलपत्र परेका छन् । सडक अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार र आइतबार पनि मुलुकका अधिकांश भागमा वर्षा हुने अनुमान छ । आइतबार मध्याह्नपछि मात्र कम हुँदै जाने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार शनिबार कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।