|| नवराज सुवेदी ||
उ.. त्यो पारीको डाँडा छ नि
त्यहाँबाट आउँछिन उनी, घामको पहिलो किरण सगँसगैँ
इन्द्रेणीमा रंग कोरेर, मझेरीको घुम्टो ओढेर
अलिकती माया अनि थोरै, सारीको सप्को भित्र कतै मेरा लागि भावनाका कोशेली बोकेर
डाँडापारीबाट आउँछिन् उनी इन्द्रेणीमा रंग कोरेर, मझेरीको घुम्टो ओढेर ।
सधैँ आउने बेला यही त हो, आज आउन अलि ढिला भयो होला
सुसेलीले बोलाउन आउँदैन मलाई, होस बरु बादललाई गुहार्छु
ए बादल तिमिले त छेकेनौ ? ए नदी तिमीले त रोकेनौ ?
सधैँ आउने बेला यही त हो तर आज आइनन्
इन्द्रेणीमा रंग कोरेर, मझेरीको घुम्टो ओढेर
अलिकती माया अनि थोरै, सारीको सप्को भित्र कतै मेरा लागि भावनाका कोशेली बोकेर ।
घाम पनि रिसाएछ आज उनीसगँ, उदाउन चाहेन
बादल पनि विरक्तिएछ क्याहो आकाशमा डुलेन
नदी रोएछ कि ? कोइलीले गित गाएन
सधैँ तिमी आउँदा खुशी हुन्थ्यो नि, त्यो पल्लो डाँडाको फुर्के । क्यात फुर्के
त्यो पनि रिसाएछ क्यार सधैँ तिमीलाई हेर्न भन्दै दोडिँदै दौडिँदै आउने उ, आज आएन ।
नदी रोएछ कि ? कोइलीले गित गाएन ।
साँच्चै तिमी नआउने हो र ?
तिमीलाई थाहा छैन होला
यो घामले बादलले, डाँडाले पहराले, देउरालीले नदीले अनि त्यो फुर्केले पनि
तिमीलाई नै पर्खिरहेछन्
जस्सरी नि तिमी आउनु है
इन्द्रेणीमा रंग कोरेर, मझेरीको घुम्टो ओढेर
अलिकती माया अनि थोरै, सारीको सप्को भित्र कतै मेरा लागि भावनाका कोशेली बोकेर ।।