बुद्धशान्ति, माघ १४।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ। आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा बुद्धशान्तिले ८ विकेट गुमाउँदै १७८ रनमात्र बनाउन सक्यो। गौरादहका लागि सुरज न्यौपानेले ५४ रन र अर्जुन यादवले ५० रनको योगदान दिए। बुद्धशान्तिका लागि आदि हाङ फागोले सर्वाधिक ४० रन, कप्तान अर्पण कार्कीले ३४ रन, र पारस निरौलाले उल्लेख्य योगदान दिए पनि अन्य ब्याट्सम्यानले प्रदर्शन गर्न सकेनन्। खेलको म्यान अफ द म्याच गौरादहका सुरज न्यौपाने घोषित भए। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी हात पारे।
दोस्रो खेलमा कचनकवलले गौरीगन्जलाई ९ विकेटको फराकिलो जितले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको गौरीगन्जले १०.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सक्यो। कचनकवलका बलरहरूसामु निरीह देखिएको गौरीगन्जका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ४४ रनको लक्ष्य कचनकवलले ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्यो। कचनकवलका लागि दिपेश बोगटीले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। उनी म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्न सफल भए।
भोलिदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुने आयोजकले जनाएको छ। पहिलो क्वाटरफाइनलमा झापा गाउँपालिका र बिर्तामोड भिड्नेछन् भने दोस्रो खेल कन्काई र भद्रपुर नगरपालिकाबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितालाई भव्य बनाउन खेलाडीको प्रदर्शन उत्साहजनक देखिएको र खेलहरू रोचक बन्दै गएको अध्यक्ष मदन प्रसाईंले बताए।